
बिहिवार , फाल्गुण ३, २०८०
रुपन्देही, ३ फागुन ।
दाङमा ड्युटीमा खटिएकी महिला प्रहरीको गोली हानी हत्या भएको छ । घोराही उपमहानगरपालिकाको दामोदर चोकमा ड्युटीमा खटिएकी धनमाया थापामाथि बिहीवार बेलुकी गोली प्रहार गरी हत्या भएको प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले बताए ।
थापालाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
धनमायामाथि उनकै श्रीमान सहायक हवल्दार यमबहादुर झाँक्रीले गोली हानेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) कुबेर कडायतले जानकारी दिए ।
तालिम केन्द्र बाँके, नेपालगञ्जमा कार्यरत यमबहादुर बिहीबार घोराही आएका थिए । उनले धनमायामाथि तीन राउण्ड गोली प्रहार गरेको बताइएको छ ।
श्रीमतीलाई गोली हानी भागेका यमबहादुरलाई लमहीको अर्जुन खोला नजिकबाट प्रहरीले नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी सुवेदीले जानकारी दिए ।
प्रजिअ सुवेदीका अनुसार घटना करिब साढे ७ बजेतिरको हो । श्रीमतीलाई गोली हानेर भागेका यमबहादुरलाई करिब साढे ८ बजेतिर प्रहरीले अर्जुन खोला नजिकबाट नियन्त्रणमा लिएको सुवेदीले जानकारी दिए । हत्याको कारण खुल्न बाँकी भएको र अनुसन्धान जारी रहेको डीआईजी कडायतले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij