
आइतवार , फाल्गुण ६, २०८०
तिलोत्तमा, ६ फागुन ।
क्लोथ एण्ड फूड बैंक नेपालले रुपन्देहीको बुटवल उपमहानगरपालिकामा शनिबारदेखि क्लोथ बैंक सञ्चालनमा ल्याएको छ । महानायक राजेश हमालको उपस्थितिमा बैंकको शुभारम्भ गरिएको हो । उद्घाटन कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल तथा कलाकार दिनेश डि.सी.को समेत सहभागीता रहेको थियो ।
सो अवसरमा बोल्दै नगरप्रमुख पाण्डेयले क्लोथ बैंकमा जम्मा हुने कपडाले दुःखी र विपन्न वर्गहरुलाई न्यानो प्रदान गर्न सकिने बताए । उनले बुटवल उपमहानगरपालिका सबै नागरिकहरुप्रति सचेत भएको बताउँदै क्लोथ बैंक सञ्चालनपछि विपन्न र गरी वर्गका लागि हित हुने विश्वास व्यक्त गरे । केही दिन अघि मात्र बुटवल उपमहानगरपालिका रुपन्देही र क्लोथ एण्ड फूड बैंक नेपालबीच क्लोथ बैंक सञ्चालन गर्ने सम्झौता भएको थियो । सम्झौतापछि शनिबार औपचारिक रुपमा बुटवलमा क्लोथ बैंक सञ्चालनमा आएको हो ।
कार्यक्रममा महानायक राजेश हमालले समाज परिर्वतनका लागि युवा समूहहरुले गरेको सामाजिक कार्यको प्रशंसा गर्दै उक्त कार्यमा आफू संलग्न हुन पाउँदा खुसी लागेको बताए । उनले कुनै पनि व्यक्तिका लागि आवश्यक नभएको कपडा अरुलाई आवश्यक पर्ने भन्दै क्लोथ बैंकमा आफूलाई आवश्यक नपर्ने कपडा जम्मा गरिदिन सबैलाई आग्रह समेत गरे ।
मानव सेवाको लागि पुरानो कपडालाई पुनः प्रयोग भन्ने मूल नाराका साथ सुरु भएको क्लोथ बैंक बुटवलका विभिन्न स्थानमा संकलनका लागि बक्स राखिने र संकलित कपडालाई पुनः प्रशोधन गरेर आवश्यकताका आधारमा वितरण गरिने क्लोथ एण्ड फूड बैंक नेपालका अध्यक्ष कमल जि.सी.ले बताए । उनले आगामी दुई वर्षमा कपडाविहीनमुक्त बनाउने र २०८२ सम्ममा देशभर फूड एम्बुलेन्स समेत सञ्चालन गर्ने योजना बनाएको बताए । उनका अनुसार अहिलेसम्म १५४ स्थानीय सरकार यो अभियानमा जोडिएका छन् ।
कार्यक्रममा सञ्चारकर्मी एवं वरिष्ठ कलाकार दिनेश डि.सीले परोपकारी कार्य सधै मानव विकासका लागि हुने भन्दै उक्त कार्यक्रमा जोडिन सबै नगरबासीलाई आग्रह गरे । क्लोथ बैंकमा आफ्नो घरमा भएका पुरानो कपडा हुनेहरूले दान गर्न सक्नेछन भने आवश्यक पर्नेहरुले निःशुल्क लिन सक्नेछन् । उक्त कार्यक्रमको सञ्चालन सञ्चारकर्मी आविष्कार खनालले गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij