
सोमवार , फाल्गुण ७, २०८०
बुटवल, ७ फागुन ।
पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.ले बुटवल र तिलोत्तमाका विभिन्न संघ–संस्थामा नवनिर्वाचित पदाधिकारीसहित प्रहरी प्रमुखलाई स्वागत तथा सम्मान गरेको छ । हालै सम्पन्न रुपन्देही व्यापार संघको २२ औं साधारणसभा तथा १२ औं अधिवेशनबाट निर्वाचित अध्यक्ष दिपक अधिकारीसहित पदाधिकारी र सदस्यहरुलाई प्रा.लि.ले सम्मान गरेको हो ।
साथै शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको हालै सम्पन्न ७ औं अधिवेशनबाट निर्वाचित अध्यक्ष किशोर सुवेदी क्षेत्रीसहित पदाधिकारी र सदस्यहरुलाई पनि प्रा.लि.ले सम्मान गरेको छ । सो अवसरमा हालै सरुवा भइ आएका ईलाका प्रहरी कार्यालय बुटवल, रुपन्देहीका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) विजयराज पण्डितलाई समेत प्रा.लि.ले स्वागत तथा सम्मान गरेको थियो ।
स्वागत तथा सम्मान कार्यक्रममा प्रा.लि.का अध्यक्ष दधिराम खरेलले यातायात व्यवसायी र उद्योगी व्यवसायीबीचको सहकार्य आवश्यक रहेको चर्चा गर्दै एकताबद्ध भएर अघि बढेमा हरेक समस्या समाधान गर्न सकिने बताएका थिए । उनले सरकारले यातायात क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन नआउँदासम्म यातायात व्यवसायी र यातायात क्षेत्रको विकास हुन नसक्ने बताए । बजार मूल्य र इन्धनको मुल्य आकाशिदै जानु वैज्ञानिक भाडादर कायम नहुनु जस्ता कारणले व्यवसायी पलायन हुन बाध्य भएको अध्यक्ष खरेलको भनाइ छ ।
सो अवसरमा ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख विजयराज पण्डितले नागरिकको सुरक्षासँग सम्बन्धित विषयमा उद्योगी व्यवसायी र नागरिक समाजसँग सहकार्य गरेर अघि बढ्न सकिने बताए ।
रुपन्देही व्यापार संघका नवनिर्वाचित अध्यक्ष दिपक अधिकारीले समग्र समाजको विकास र समृद्धिको यात्रामा सरकारी र गैरसरकारी निकायहरुको भूमिका महत्वपुर्ण हुने धारणा व्यक्त गर्दै चर्को घरबहाल बुटवलको समस्याका रुपमा रहेको उल्लेख गरे ।
सो अवसरमा शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका नवनिर्वाचित अध्यक्ष किशोर सुवेदी क्षेत्री, पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.का सञ्चालक नारायण घिमिरे, प्रबन्ध सञ्चालक रामचन्द्र भुसाल लगायतले नेपालको विकासमा यातायात क्षेत्रले पुर्याएको योगदानको चर्चा गरे । उनीहरुले यातायात क्षेत्रलाई थप व्यवस्थित र मर्यादित बनाउदै लैजानुपर्नेमा जोड दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij