२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

म रहेसम्म समाज परिवर्तनका लागि काम गरिरहनेछु : मन्त्री पाण्डेय

बिहिवार , फाल्गुण १०, २०८०

भैरहवा, १० फागुन ।
लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेयले आफू रहेसम्म निश्चित रुपमा समाज परिवर्तनका लागि काम गरिरहने बताएका छन् । उनले सबै कुरा पाएर पनि असुन्तष्ट हुनुभन्दा सन्तुष्ट व्यक्ति खुसी हुने बताए ।

प्रकृति संरक्षण नेपाल सिद्धार्थनगर नगरपालिका–३, रुपन्देहीले सिद्धार्थनगर–२ स्थित श्री बाल बहिरा माध्यमिक विद्यालयमा आयोजना गरेको चित्रकला प्रतियोगिताको समापन कार्यक्रम मन्त्री पाण्डेयले यस्तो बताएका हुन् । उनले भने, ‘हामी भगवान गौतमबुद्धको जन्मस्थल पवित्रभूमिमा छौं, हामी गौतमबुद्धका सन्तान हौं । बुद्धको विचारलाई आत्मसात गर्ने धेरै व्यक्तित्वहरु अघि बढेका छन् ।’

लुम्बिनी प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री पाण्डेयले प्रतियोगितामा सहभागीता जनाउनु महत्वपूर्ण रहेको बताए । ‘खेलकुद तथा विभिन्न अतिरिक्त क्रियाकलाप (प्रतियोगिता) मा सहभागी हुनेमध्ये प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने सहभागीहरुले पुरस्कार पाउँछन् । तर, राजनीति (निर्वाचन) मा जित्ने अर्थात प्रथम हुनेले मात्र पुरस्कार पाउँछन्, ’उनले भने ।
मन्त्री पाण्डेयले श्री बाल बहिरा माध्यमिक विद्यालयमा आवश्यक भौतिक पूर्वाधार निर्माणका लागि लुम्बिनी प्रदेश सरकारले बजेट बिनियोजन गर्ने बताए ।

‘म हुँ प्रकृति मलाई बाच्न देउ’ शीर्षकमा अहिलेका पुस्ताले दुषित वातावरणलाई कुन रूपमा लिएका छन् र यसलाई चित्रकलाद्वारा प्रस्तुत गरी बुझाउने उद्देश्यले निम्न माध्यमिकस्तरका बालवालिकाहरुक लागि प्रतियोगिताकोे आयोजना गरिएको प्रकृति संरक्षण नेपालकी अध्यक्ष प्रकृति उप्रेतीले बताइन् ।

प्रतियोगितामा श्री बाल बहिरा माध्यमिक विद्यालय, सिद्धार्थ बाल गृह, मदरसा इस्लामीक कादरीया अहले सुन्नत फैजुल ओलुम रोहिणी गाउँपालिका– १ वेनिपुर र मेउडिहवा आधारभूत विद्यालयका गरी २० जना विद्यार्थीहरुको सहभागीता रहेको आयोजकले जनाएका छन् ।

प्रतियोगितामा श्री बाल बहिरा माध्यमिक विद्यालयका अमृत बश्याल प्रथम, सोही विद्यालयका इथेक बुढाथोकी द्वितीय, सिद्धार्थ बाल गृहका हरी नेपाल तृतीय र सिद्धार्थ बाल गृहकै अस्मिता कुर्मी सान्तवना भएको निर्णायक अर्जुन पाठकले बताए ।
प्रतियोगितामा सहभागीता विद्यार्थीहरु जम्मा २० जना रहेका थिए ।

संस्थाका सदस्य रीता थापाले सञ्चालनमा भएको कार्यक्रममा सिद्धार्थनगर–२ का वडा अध्यक्ष छेदीलाल श्रीवास्तव, ब्रह्माकुमारी ईश्वरी विश्वविद्यालयका क्षेत्रीय प्रमुख शान्ति सुवेदी, जेसीआई सिद्धार्थ लेडी, नेपालकी अध्यक्ष संगिता आचार्य, श्री बाल बहिरा माविका प्रधानाध्यापक भिम बहादुर थापा, वीर फाउण्डेशनकी अध्यक्ष विजया खत्री, सिर्जना पाठक, वडा सदस्यहरु लगायतको आतिथ्यता रहेको थियो ।