
आइतवार , फाल्गुण २, २०७७
बुटवल, २ फागुन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको उद्देश्य नमिलेका केही तत्व बाहिरिना साथ पार्टीले गति लिएको बताएका छन् । उनले पार्टीको विचार नमिलेका तत्व बाहिरिए पछि पार्टी अनुशासित र गतिशिल हुनुका साथै थप एकतावद्ध भएको दावी गरेका छन् ।
प्रधानमन्त्री ओलीले पुष्पकमल दाहाल ’प्रचण्ड’ र माधवकुमार नेपाललाई अंकित गर्दै भने ‘सभा कस्तो हुन्छ, कार्यकर्ता कता छन् भनेर लाग्छ भने आउनुस बुटवल हेर्नुस सभा । नेकपा लुम्बिनी प्रदेश ओली पक्षले बुटवलमा गरेको सभालाई सम्बोधन गर्दै ओलीले भने, ‘देश बनाउन नसक्ने तत्वहरू पार्टी छाडेर बाहिरिएको छन्, पार्टी छाडेर बाहिरिनेहरूले सरकारविरुद्ध डम्फू बजाइरहेका छन्, उनले भने ।
संसद विघटन र चुनाव गराउने काम भन्ने प्रतिगमन हो भने कस्तो प्रणाली चाहिएको हो भनी प्रश्न गर्दै ओलीले भने, ‘देश बनाउने कुरा नभएर एक जनालाई प्रधानमन्त्री र अर्कोलाई अध्यक्ष हुन मन लागेर पार्टीभित्र विवाद चर्किएको उनले बताए ।
सो अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले भारतले मिचेको भूमिसहितको नयाँ नक्सा संसदबाट पास गराएपछि प्रचण्ड–माधव पक्ष आत्तिएर सरकार ढाल्न लागेको पनि उनले दावी गरे । आफ्नो सरकार आएपछि देशभर विकासका लहर छाएको समेत उनले दावी गरे ।
६४ प्रतिशत सांसदहरुको समर्थन रहेको प्रधानमन्त्रीले गरेको संसद विघटन असंवैधानिक हुन नसक्ने बताउँदै प्रधानमन्त्री ओलीले संसद चल्न सक्ने अवस्था नभएपछि र अर्को सरकार पनि बन्न सक्ने अवस्था नभएपछि आफुले संसद विघटन गर्नु परेको समेत बताए । उनले बहुमतप्राप्त प्रधानमन्त्रीको हैसियतले संसद विघटन गरेको बताउँदै काम गर्न नदिने, अस्थिरतातर्फ लैजाने पार्टीभित्रै असहयोग भएकाले संविधानसम्मत रुपमा संसद विघटन गरेको दावी गरे । उनले संसद पुनस्र्थापना भएको अवस्थामा कुनै दलको बहुमत नपुग्ने र पुन अस्थिरता, सांसद किनबेच र संसदीय व्यवस्था नै बदनाम हुने अवस्था आउने चेतावनी दिंदै जनताले पुनः स्थिर सरकार दिएर विकासको बाटो खोल्नुपर्ने समेत बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij