
आइतवार , फाल्गुण १३, २०८०
भैरहवा, १३ फागुन ।
जिल्लास्तरीय ‘अन्तर कलेज साई ग्लोबल कप टी–२० क्रिकेट प्रतियोगिता’ मा आइतबार भएका दुई खेलमा शान्ति नमूना उच्च मावि र रुपन्देही क्याम्पस विजयी भएका छन् । शान्ति नमूनाले क्यानन इङ्गलिस बोर्डिङ हाई स्कूललाई ८ विकेट र रुपन्देही क्याम्पसले भैरहवा हाई स्कूललाई ९ विकेटले पराजित गरेका हुन् ।
रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा भएको पहिलो खेलमा टस हारेर ब्याटिङमा आएको क्याननले निर्धारित २० ओभरको खेलमा ९ ओभर ३ बलमा अलआउट हुँदै जम्मा २९ रनको झिनो योगफल बनायो । उसका लागि रोहित पासवानले सर्वाधिक ९ रन बनाए भने अधिकांश ब्याटर १ रन र शून्यमै पेभेलियन फर्किए । उसलाई सामान्य योगफलमा रोक्न बलिङमा शान्ति नमूनाका प्रविन ढकालले ४, संदीप यादवले ३ तथा लक्ष्मण कुमालले २ विकेट लिन सफल भए ।
जवाफी ब्याटिङ गरेको शान्ति नमूनाले ७ दशमलव २ ओभरमा २ विकेटको नोक्सानीमा ३० रन बनाउँदै सहज जीत निकाल्यो । उसका लागि सन्दिप यादवले नटआउट १७ र स्वस्तिक पराजुलीले अविजित ९ रन जोडे । बलिङमा क्याननका रोहित पासवानले २ विकेट लिए । शान्ति नमूनाका प्रविन ढकाल म्यान अफ द म्याच भए ।
अर्को खेलमा टस जितेर ब्याटिङ रोजेको भैरहवा हाई स्कूल १९ ओभर १ बलमा अलआउट हुँदै ८८ रनको सामान्य स्कोर खडा गर्यो । उसका लागि मोइन खानले २१, एजाज खानले १५, इरफान अलीले १२ र अब्दुल कसिमले अविजित ११ रन बनाए पनि जीतका लागि पर्याप्त भएन । बलिङमा रुपन्देही क्याम्पसका सरजुद्दिन नाउ र आनन्द गौडले ३–३ तथा राहुल साहनीले २ तथा जितेन्द्र केवट र सन्तोष यादवले समान १–१ विकेट लिए ।
प्रतिउत्तरमा रुपन्देही क्याम्पसले ८ ओभर ४ बलमा १ विकेटको नोक्सानीमा ९० रन बनाउँदै सहज रुपमा जीत निकाल्यो । उसका लागि जितेन्द्र केवटले अर्धशतकीय पारी खेल्दै अविजित ६३ रन बनाए भने सन्तोष यादवले नटआउट १३ रन जोड्न सफल भए । बलिङमा भैरहवा हाई स्कूलका प्रियांन्सु मल्लिकले १ विकेट लिए । रुपन्देही क्याम्पसका आनन्द गौड म्यान अफ द म्याच घोषित भए ।
रुपन्देही क्रिकेट संघको आयोजना तथा साई ग्लोबल एकेडेमीले प्रमुख प्रायोजनमा जारी प्रतियोगिताका विजेता टीमले नगद ५० हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नछ । यस्तै, उपविजेता टीमले नगद २५ हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र, प्रत्येक खेलको म्यान अफ द म्याचले १ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र पाउनेछन् ।
त्यस्तै, म्यान अफ द सिरिजले ५ हजार, बेस्ट ब्याटरले २ हजार ५ सय र बेस्ट बलरले २ हजार ५ सय रुपैयाँका साथै ट्रफी र प्रमाणपत्र पाउनेछन् । यस्तै, एक अनुशासित टीमले ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा जिल्लाका विभिन्न कलेजका २६ टीम सहभागी छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij