२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

समाजलाई सभ्य र सुरक्षित बनाउनु प्रहरीको जिम्मेवारी : एसपी राठौर

सोमवार , फाल्गुण १४, २०८०

भैरहवा, १४ फागुन ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रंजित सिंह राठौरले समाजलाई सभ्य र सुरक्षित बनाउनु प्रहरीको जिम्मेवारी भएको बताएका छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय अन्तर्राष्ट्रिय ट्रमिनल भैरहवा, रुपन्देहीबाट सरुवा भइ जिल्ला प्रहरी कार्यालय रुपन्देहीको प्रमुखको जिम्मेवारी सम्हालेका एसपी राठौरले यस्तो बताएका हुन् ।

आइतबार जिल्ला प्रहरी कार्यालयमा आयोजित सञ्चारकर्मीहरुसँग भेटघाट तथा परिचयात्मक कार्यक्रममा बोल्दै उनले रुपन्देही अवसर र चुनौती दुवै भएको जिल्ला भएको उल्लेख गरे । उनले भने, ‘रुपन्देही जिल्लासँग मेरो पुरानो सम्बन्ध छ । नयाँ जिल्लामा गए जस्तो लागेको छैन ।’

एसपी राठौरले समाजमा रहेका विकृति–विसंगति न्यूनीकरणका लागि प्रहरीले विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको र ती कार्यक्रमहरुलाई निरन्तरता दिदै जाने बताए । उनले सञ्चार क्षेत्रको मुख्य भूमिका रहेकाले सही समयमा सूचना दिएर प्रहरीको कार्यलाई सहयोग गर्न आग्रह गरे । मिडियाको सही सूचना/सन्देश प्रवाहले प्रहरीको अभियानलाई सहयोग पुग्ने उनको भनाइ छ ।

‘तराईका आफ्नै विशेषता र समस्या छन्, सीमा क्षेत्रमा लागूऔषध दुव्यर्सनीको समस्या छ । यसको रोकथाम तथा नियन्त्रणका लागि धेरै प्रयास भएको छ । आउने दिनमा पनि अभियानले निरन्तरता पाउँछ, ’उनले भने । 

वार्षिक कार्यसम्पादन सम्झौतामा प्रहरीले गर्नुपर्ने कुराहरु समेटिएकाले प्रहरीसँग योजना रहेको बताए । ती योजनाअन्तर्गत रहेर काम अघि बढाउने एसपी राठौरले बताए ।