images

आइतवार, बैशाख १६ गते २०८१

१८ करोड लागतमा आधुनिक मासु प्रशोधन केन्द्र

१८ करोड लागतमा आधुनिक मासु प्रशोधन केन्द्र

images
images
images
बुधवार, फाल्गुण १६ २०८०
बुधवार, फाल्गुण १६ २०८०
  • १८ करोड लागतमा आधुनिक मासु प्रशोधन केन्द्र

    भैरहवा, १६ फागुन ।
    कृषिजन्य उद्योग तथा उत्पादनको क्षेत्रमा सक्रिय रहेको रुपन्देहीको श्रीनगर एग्रिटेक इण्डष्ट्रिजले मासु प्रशोधन तथा कोल्ड स्टोरेजको काम समेत सुरु गर्ने भएको छ ।

    images

    श्रीनगरले आगामी २०८१ वैशाखभित्र मासु प्रशोधन तथा कोल्ड स्टोरेजको काम सुरु गर्नका लागि पूर्वाधार निर्माणको काम सुरु गरेको श्रीनगर एग्रिटेक इण्डष्ट्रिजका अध्यक्ष सतिशचन्द्र श्रेष्ठले बताए । लुम्बिनी प्रदेशलाई लक्षित गरी कम्पनीले १८ करोड लगानीमा मासु प्रशोधन एवं कोल्ड स्टोरेजको काम सुरु भइसकेको उनले बताए  ।

    ‘हाम्रो मुख्य उद्योग रुपन्देहीको शुद्धोधन गाउँपालिकामा छ । यहाँ चल्ला, अण्डा उत्पादन हुन्छ । हामीले चल्ला किसानलाई विक्री गर्ने गरेका छौं र त्यही किसानले पालेको चल्ला खान योग्य हुने भएपछि उनीहरुबाटै खरिद गरी मासु प्रशोधन विक्री गर्ने लक्ष्य हो । सोझै हाम्रै किसानबाट बजारमै चलेको भाउमा हामीले कुखुरा खरीद गर्ने भएकाले किसानले पनि उचित मूल्य पाउनेछन्, ’श्रेष्ठले भने ।

    मासु प्रशोधन उद्योगबाट दैनिक ३ हजार कुखुरा अर्थात ६ हजार किलो मासु तयार गरी बजारमा पठाउने लक्ष्य रहेको र कोल्डस्टोरको क्षमता २ सय टनको हुने श्रेष्ठले जानकारी दिए ।

    मासु प्रशोधन उद्योगबाट फ्रोजन मिट साथै बोनलेस, विथ बोन, किमा, ससेज, विंग्स लगायतका मासु उपलब्ध हुने जनाइएको छ । ‘उपभोक्तालाई उच्च गुणस्तरको मासु उपभोग गर्न सकुन भन्ने हाम्रो लक्ष्य हो र हामीले स्वास्थ्यका सबै मापदण्ड पुरा गरी काम गर्छौं । हलालदेखि सबै प्रक्रिया गरी सबै वर्गले खान योग्य हुन्छ र प्रशोधन केन्द्रको नियमित निरीक्षणको माग समेत हामी गर्छौ, ’अध्यक्ष श्रेष्ठले भने । वाणिज्य विभागबाट नेपाल गुणस्तर (एनएस) चिन्ह  लिएर प्रशोधन केन्द्र सञ्चालनमा ल्याउने  सोचका साथ काम सुरु भएको श्रेष्ठको भनाइ छ ।

    प्रशोधन तथा कोल्ड स्टोरको लागि कम्पले चिन र भारतबाट सेमी अटोमेटिक प्लान्टहरु ल्याउनका लागि प्रक्रिया अघि बढाएको र उद्योग स्थापनाको काम अघि बढिसकेकाले वैशाख महिनाभित्रै बजारमा प्रशोधित मासु पठाउने लक्ष्य रहेको कम्पनीका प्रबन्ध निर्देशक मौसमी श्रेष्ठले बताइन् ।

    कम्पनीले प्रथम चरणमा मासु प्रशोधन तथा कोल्डस्टोर तथा दोस्रो चरणमा अण्डाको प्रोसेसिंग प्लान्ट पनि जडान गर्ने भएको छ । नेपालमै पहिलोपटक अण्डाको झोल विक्री गर्ने कम्पनीको योजना छ । ‘हामी दोस्रो चरणमा अण्डाको झोल र पाउडर पास्चराइज गरी विक्री समेत गर्छौ, विकसित मुलुकमा जस्तै अब अण्डाको झोल ग्यालेन र बोतलमा उपलब्ध हुन्छ, ’अध्यक्ष श्रेष्ठले भने ।
    श्रीनगरले मासु प्रशोधन उद्योग तथा कोल्ड स्टोर बुटवल औद्योगिक क्षेत्रमा सुरु गर्न लागेको हो ।  

    विगत २ दशकदेखि कृषिजन्य उद्योग तथा उत्पादनको क्षेत्रमा सक्रिय श्रीनगरले रुपन्देहीको शुद्धोधन गाउँपालिकामा चल्ला अण्डा उत्पादन गर्ने ह्याचरी फार्म साथै फिड दाना उद्योग सञ्चालन गर्दै आएको छ ।

    कृषि क्षेत्रमार्फत अर्थतन्त्रमा योगदान पुर्याउने उद्देश्यले सन् २००२ मा स्थापना भएको कम्पनीमा हाल ३ सय जनाले रोजगारी पाएका छन् । त्यस्तै १५० कुखुरापालक किसानहरु यो कम्पनीसँग प्रत्यक्ष रुपमा जोडिएका छन् ।

    फार्म, फीड तथा फूडको एकीकृत व्यापार विस्तार गर्दै आएको कम्पनीको केन्द्रीय कार्यालय काठमाडौंको टंगालमा छ ।

    लुम्बिनी प्रदेशको पाल्पा र रुपन्देहीमा उद्योग छन् । कम्पनीको उत्पादन ४० भन्दा बढी जिल्लामा वितरण तथा खपत हुँदै आएकोमा प्रशोधित मासुको मुख्य बजार लुम्बिनी प्रदेशलाई लक्षित गरिएको जनाएको छ ।
     

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij