
आइतवार , फाल्गुण २, २०७७
भैरहवा, २ फागुन ।
भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार भएको डिभिजन (बी)को खेलमा सैनामैना क्रिकेट क्लबले प्रोफेसनल मास्टर्स ११ लाई ७ विकेटले पराजित गरेको छ । जितसँगै सैनामैना डिभिजन ‘ए’ मा प्रवेश गरेको छ ।
टस जितेर ब्याटिङमा आएको प्रोफेसनलले निर्धारित ४३ ओभरको खेलमा २९.२ ओभरमा अलआउट हुँदै ९१ रन मात्रै बनायो । उसका लागि सुजन मकाजुले २८ र अमर रसाइलीले २४ रन बनाए । बलिङका सैनामैनाका उदय पन्तले ९ ओभरमा १ मेर्डन राख्दै २५ रन खर्चेर ५ विकेट लिए । यस्तै, विशाल भुसालले २ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको सैनामैनाले १९ ओभर ४ बलमा ३ विकेट क्षतिमा ९२ रन बनाउँदै लक्ष्य भेट्टायो । उसका लागि सरोज पौडेलले नटआउट ४१, अंकित परियारले १६ रन बनाए । बलिङमा प्रोफेसनलका अनिल जैसवालले २ र जितेन्द्र साहनीले १ विकेट लिए । उदय पन्त म्यान अफ द म्याच घोषित भई पुरस्कृत भए । सोमबार शंकरनगर क्रिकेट क्लब र ज्ञानोदय क्रिकेट क्लबबीच प्रतिष्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले बताए ।
प्रतियोगिताको विजेता टिमले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । त्यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर र उदयीमान खेलाडीलाई ५÷५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँ प्रदान गरिने छ । नेपाल टेलिकम मुख्य प्रायोजक रहेको प्रतियोगिताको सह–प्रायोजकमा विके ज्वेलर्स र सगरमाथा इन्स्योरेन्स छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij