२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

यातायात सेवा कार्यालयको पटके शाखा अब भैरहवा भन्सार परिसरबाट

शुक्रवार , फाल्गुण १८, २०८०

भैरहवा, १८ फागुन । यातायात व्यवस्था सेवा कार्यालय भैरहवा, रुपन्देहीबाट प्रदान गरिदै आएको आर.टी.ओ (पटके शाखा) सेवा सिद्धार्थनगर–१, बेलहियास्थित भैरहवा भन्सार कार्यालय परिसरबाट सञ्चालन भएको छ । पटके शाखाको शुक्रबार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले भारतबाट आएका सेवाग्राही धु्रव सिंहलाई सवारीसाधनका लागि पटके बाटो इजाजतपत्र (पटके पास) दिदै उक्त शाखाको उद्घाटन गरेका हुन् ।

सो अवसरमा बोल्दै प्रमुख जिल्ला अधिकारी अर्यालले कहिलेकाही साधारण कुराले असाधारण अर्थ राख्ने बताए । उनले पटके काट्न केही टाढा जानुपर्ने बाध्यतालाई मध्यनजर गर्दै भन्सार परिसरमा सुरु भएको शाखाले पर्यटकलाई सहजता प्रदान गर्ने बताए । उनले भने, ‘आज यो शाखा शुभारम्भ गरिएको छ, नेपाली नम्बर प्लेटका सवारीसाधनका लागि पट्के काट्न टाढा भयो भन्ने जुन कुरा छ । यसमा पनि हामी लाग्छौं ।’

पट्के सेवामा बस्ने कर्मचारीको विशेष महत्व रहेकाले गुनासो नआउने गरी काम गर्न उनले आग्रह गरे । प्रमुख जिल्ला अधिकारी अर्यालले कम बोलेर काम धेरै गरौं भन्ने मान्यताका साथ अघि बढ्नुपर्नेमा जोड दिए । उनले भने, ‘चेकजाँचको प्रणालीलाई एकीकृत, व्यवस्थित र प्रभावकारी बनाउनुपर्छ । पर्यटकको गाडीबाट सुरुवात गरौं । एक ठाउँमा सवारीसाधन चेकजाँच भएपछि स्टीकर टाँसेर अन्य ठाउँमा चेकजाँच नहुने गरी एकीकृत चेकजाँचका लागि होमवर्क गरेर अघि बढ्छौं । ’

यातायात व्यवस्था सेवा कार्यालय भैरहवाका प्रमुख ईश्वरचन्द्र अर्यालले पटके सेवाले प्रदेशको राजस्वमा केही वृद्धि हुने विश्वास व्यक्त गरे । उनले यो कार्यालयमा ७ जना स्वीकृत दरबन्दी रहेको बताए । उनले भने, ‘जनशक्ति कम छ । कार्यालयबाट पनि पटके सेवा उपलब्ध गराउन मन्त्रालयमा पहल गर्छु ।’

भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमले पर्यटकलाई कसरी सेवासुविधा दिन सकिन्छ भन्ने दृष्टिकोणबाट प्रमुख जिल्ला अधिकारीज्यूको अग्रसरताबाट पटके शाखा सञ्चालनमा आएको बताए । उनले भने, ‘हामी सबैको योगदानबाट यो शाखाको उद्घाटन भयो । यसले निरन्तर यहाँबाट सेवा प्रवाह गर्नेछ ।’

Yatayaaat 3.jpg

सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले पर्यटकलाई सास्ती भयो र भन्सार कार्यालय परिसरबाट पटके सेवा सुरु गर्नुपर्छ भनेर प्रमुख जिल्ला अधिकारीलाई अनुरोध गरेको स्मरण गरे । उनले यसले भारतीय पर्यटकलाई सुविधा प्रदान गर्ने विश्वास गरे । उनले भने, ‘नेपाली गाडीलाई बेलहिया आउँदा असुविधा हुन्छ । लुम्बिनीमा सामान लोड गरेर पटक लिन बेलहिया आउनपरे टाढा हुन्छ । तसर्थ यातायात व्यवस्था सेवा कार्यालय भएकै स्थानबाट नेपाली नम्बर प्लेटका सवारीसाधनलाई पटके काट्ने व्यवस्था गर्नुपर्छ ।’

चेम्बर अफ कमर्श, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) का अध्यक्ष दर्पण श्रेष्ठले पटके शाखा सञ्चालनमा आउनु स्वागतयोग्य र ऐतिहासिक काम भएको बताए । उनले भने, ‘यसले आर्थिक स्थिति र व्यवसाय तथा पर्यटन क्षेत्रमा ठूलो योगदान पुर्याउने विश्वास लिएका छौं ।’

सिद्धार्थ सञ्जाल, रुपन्देहीका वरिष्ठ उपाध्यक्ष तथा सिद्धार्थ होटल एशोसियसन नेपालका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले पटके सेवालाई निश्चित रुपमा पर्यटकमार्फत सकारात्मक सन्देश जाने बताए । उनले पर्यटकलाई दुःख दिने प्रवृत्ति हटाउनुपर्ने माग गरे ।

सिद्धार्थ सञ्जाल, रुपन्देहीका महासचिव संजय बजिमयले भने, ‘भन्सार परिसरमै पटके सेवा सञ्चालनलाई सकारात्मक रुपमा लिएका छौं । ’

Yatayaaat 2.jpg

सिद्धार्थ सार्वजनिक यातायात प्रा.लि.का सञ्चालक सियाराम यादवले प्रमुख जिल्ला अधिकारीज्यूको नेतृत्वमा सराहनीय काम भएको बताए । उनले भने, ‘भारतीय पर्यटकको सुविधालाई मध्यनजर गर्दै बेलहिया नाकामै पटके सेवा सञ्चालन गर्नु सराहनीय कार्य हो । पर्यटकलाई सहजता प्रदान गर्छ । तर, नेपाली सवारीसाधनका लागि यातायात व्यवस्था सेवा कार्यालयबाटै पटके सेवा सञ्चालन गर्नुपर्छ ।’

नर बहादुर अर्यालको स्वागत तथा माधव कोइरालाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।