
सोमवार , फाल्गुण ३, २०७७
भैरहवा, ३ फागुन ।
गत आर्थिक वर्षको ५३ करोड १५ लाख ८५ हजार ३ सय ३६ रुपैयाँको आय–व्यय विवरण सार्वजनिक गदै रोहिणी गाउँपालिकाको ८ औं गाउँसभा सोमबार सम्पन्न भएको छ । गाउँसभाले गाउँपालिकामा रहेका सडकहरुमा मापदण्ड समेत तय गरेको छ । गाउँपालिकाको गल्ली बाटोको लागि न्यूनतम १४ फिट, भित्री सडकको लागि २० फिट, महत्वपूर्ण सडकहरु, दुई वा सो भन्दा बढी वडा जोडने सडकहरुको चौडाई न्यूनतम २४ देखि ३० फिट तोकिएको गाउँपालिका अध्यक्ष सनोज कुमार यादवले बताए । त्यस्तै प्रदेशस्तरीय र संघ स्तरीय सडकहरु प्रदेश र संघीय सरकारले कायम गरेको मापदण्ड बमोजिम रहने तथा गल्ली र सडकको चौडाई पछि ५ फिट सेट व्याक कायम हुने सभाले निर्णय गरेको छ ।
चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा गाउँपालिकाले चालु खर्चतर्फ ३० दशमलव ८९ प्रतिशत र पुंजीगततर्फ ३ दशमलव ५६ प्रतिशत खर्च भएको गाउँपालिका अध्यक्ष यादवले बताए । त्यस्तै गाउँपालिका अन्र्तगत रहेको सामूदायिक तथा सरकारी आधारभूत तह र माध्यमिक तहमा कार्यरत करार तथा पिसिएफतर्फका शिक्षक र कार्यालय सहयोगीको समस्यालाई पनि सभाले सम्बोधन गरेको छ । शिक्षक तथा कर्मचारीहरुको तलब अपुग भएको भन्नेबारे पटकपटक विद्यालयबाट माग भइ आएकोले अब यस्तो अवस्थामा कारण, औचित्य र पुष्ट्याईको आधारमा गाउँपालिकाले अनुगमन गरी शिक्षा शाखाबाट पेश भएको प्रतिवेदनको आधारमा निकासा दिने नीतिगत निर्णय गरेको छ ।
रोहिणी गाउँपालिकाले सभा मार्फत गत आर्थिक वर्षमा कोरोना व्यवस्थापनमा भएको आय–व्यय समेत सार्वजनिक गरेको छ । गाउँपालिकामा गत आर्थिक वर्षमा १ करोड ३८ लाख ५६ हजार ५ सय ८२ रुपैया प्रकोप व्यवस्थापन कोषमा आम्दानी भएकोमा १ करो ९ लाख ४४ हजार १७ रुपैया विभिन्न शिर्षकमा खर्च भएको गाउँपालिकाले प्रतिवेदन सार्वजनिक गरेको छ ।
यसको साथै अबको दिनमा गाउँपालिकाको प्राथमिकतामा गाउँपालिकाको आफ्नै भवन निर्माण र वडा कार्यालयको निर्माणलाई प्राथमिकतामा राखी बजेट बाँडफाँड गरिने सभाध्यक्ष सनोज कुमार यादवले जानकारी दिए ।
गाउँपालिका अध्यक्ष सनोज कुमार यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष शिवकान्ति हरिजन, वडा अध्यक्षहरु आविद अली पठान, बिर बहादुर क्षेत्री, तारानाथ यादव, घनश्याम सिंह क्षेत्री, इन्द्रमान चौधरी लगायतले बोलेका थिए । रोहिणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij