
सोमवार , फाल्गुण २१, २०८०
भैरहवा, २१ फागुन ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका–१४ स्थित दुर्गानगरमा श्री दुर्गा संस्कृत वेद वेदाङ्ग विद्यापीठमा अस्टोत्तरशत श्रीमद्भागवत विराट ज्ञान महायज्ञ सम्पन्न भएको छ । फागुन १२ देखि सुरु भएको महायज्ञ फागुन २० गते (आइतबार) सम्पन्न भएको हो ।
२७ औं परमानन्द गुरु स्मृतिको अवसरमा विद्यापीठको आर्थिक, भौतिक, शैक्षिक गुणस्तर अभिवृद्धि तथा अक्षयकोष स्थापनार्थ महायज्ञ आयोजना गरिएको विद्यापीठले जनाएको छ ।
कक्षा ६ देखि ११ सम्म पढाइ हुँदै आएको विद्यालयबाट बटुकका साथै ज्योतिषहरु उत्पादन गर्न तथा विद्यापीठको शैक्षिक तथा भौतिक पूर्वाधार वृद्धिका लागि महायज्ञ गरिएको विद्यापीठका संस्थापक अध्यक्ष तथा महायज्ञ संकल्पकर्ता गणपति चन्द्रमणि पौडेलले बताए । ‘विद्यापीठ विं.सं. २०५१ सालमा स्थापना भएको हो । अहिलेसम्म निरन्तर चलिरहेको छ । उनले भने, ‘महायज्ञमा प्रमुख वाचक धर्मगुरु व्यासाचार्य किशोर कुमार गौतम रहनुभएको थियो ।’
महायज्ञमा हजारौं भक्तजन आएको र ठूला सन्त महात्माले प्रवचन दिनुभएको पौडेलले बताए । पाँचजना पूर्व विद्यार्थीहरुले कथा श्रवण गर्नुभएको उनको भनाइ छ । ‘सम्पूर्ण झक्तजनलाई धन्यवाद । धेरैले दान गर्नुभएको छ । यहाँ पूजाअर्चना भयो । ३ सय जना यज्ञकर्ता आउनुभयो ।’
तिलोत्तमा नगरपालिका वडा नम्बर १४ का वडाअध्यक्ष आश्विन पौडेले संस्कृतिको जर्गेनाका लागि यस्ता महायज्ञले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । उनले धर्म संस्कृति बिर्सन नहुने बताए । धर्म संस्कृति बिर्सदा समाजमा अराजकता पैदा हुने भएकाले धर्म संस्कृतिको संरक्षणमा जृट्नुपर्ने उनको भनाइ छ ।
विद्यापीठका प्रधानाध्यापक आचार्य नारायण प्रसाद भट्टराईले १ सय बढी बटुकहरुको निःशुल्क भरणपोषणका साथै आवासीय सुविधा दिदै आएको विद्यालयको स्तरोन्नतिको साथसाथै आर्थिक, भौतिक तथा शैक्षिक गुणस्तर अभिवृद्धिका साथै अक्षयकोष स्थापनाका लागि महायज्ञ आयोजना गरिएको बताए ।
समापन कार्यक्रममा महायज्ञमा सहयोग गर्ने विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij