
सोमवार , फाल्गुण २१, २०८०
बुटवल, २१ फागुन ।
समृद्धि र सुशासनले देशलाई बलियो बनाउने कार्यक्रमका वक्ताहरुले बताएका छन् । रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशको छैठौं वार्षिकोत्सवको अवसरमा आयोजित स्मारिका विमोचन तथा सम्मान कार्यक्रममा बोल्ने वक्ताहरुले अहिले सुशासन समाजमा आवश्यकता रहेकोमा जोड दिएका हुन् ।
कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले लुम्बिनी प्रदेशको राजधानी बुटवलबाट सरेपछि चलायमान गति कम भएको उल्लेख गर्दै यसको प्रभाव हरेक क्षेत्रमा परेको उल्लेख गरे । उनले बुटवललाई व्यवस्थित र बस्न योग्य शहर बनाउदै आर्थिक एवं सामाजिक चहलपहल बढाउनको लागि काम भइरहेको बताए । उनले रिपोर्टर्स क्लबले प्रदेश राजधानी सरे पनि प्रादेशिक कार्यालय बुटवलमा नै राख्नु सकारात्मक कुरा रहेको भन्दै गतिविधिलाई अझै प्रभावकारी बनाउन आग्रह गरे ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश गृह मन्त्रालयका सचिव लालबाबु कवारीले क्लबले गरिरहेका कार्यक्रमहरु निकै प्रभावकारी देखिएको बताउँदै सुशासनको क्षेत्रमा काम गर्न आग्रह गरे । उनले भने, ‘क्लबले सबै क्षेत्रलाई समेटेर अगाडि बढदा साझा फोरमको रुपमा स्थापित भएको छ ।’
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सुशासनयुक्त समाज निर्माण गर्नमा मिडिया क्षेत्रको भूमिका निकै रहने भन्दै क्लबका कार्यक्रमलाई अझै प्रभावकारी बनाउन आग्रह गरे ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का रुपन्देही अध्यक्ष निर्मल जिसी, राष्ट्रि समाचार समिति (रासस) का पूर्व केन्द्रिय अध्यक्ष एवं वरिष्ठ पत्रकार डा. बालकृष्ण चापागाईं, लुम्बिनी प्रदेश सस्थापन सभा मञ्चका अध्यक्ष डा. कृष्ण न्यौपाने, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश महासचिव विक्रम खड्का लगायतका बक्ताहरुले क्लबले गरेको कामको प्रशंसा गर्दै अझै प्रभावकारी र विश्वसनीय बन्न आग्रह गरे ।
कार्यक्रममा क्लबले प्रकाशन गरेको ‘सत्ता र सुशासन’ स्मारिका बिमोचन गरिएको थियो ।
त्यस्तै रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले छैठौं वार्षिकोत्सबको अवसरमा चार ना पत्रकार नगदसहित सम्मानित भएका छन् ।
सो अवसरमा नेपाल टेलिभिजनका हरिष ढकाल, कान्तिपुर टेलिभिजनका अमृता अनमोल, लुम्बिनी टेलिभिजनका श्याम पोखरेल र साझा टेलिभिजनका भुवन जिसीलाई सम्मान गरिएको हो ।
रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष राम कुमार क्षेत्रीको अध्यक्षता, तेजेन्द्र केसीको स्वागत मन्तव्य तथा पुजा पन्थीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij