२०८२, माघ २५ गते

Feb 08 2026 | २०८२, माघ २५ गते

साई ग्लोबल कपको उपाधि न्यू होराइजनलाई

मंगलवार , फाल्गुण २२, २०८०

  • 841
    Shares
  • 841
    Shares
  • भैरहवा, २२ फागुन ।
    न्यू होराइजन ‘ए’ टीमले रुपन्देहीको भैरहवामा सम्पन्न जिल्ला स्तरीय ‘अन्तर कलेज साई ग्लोबल कप टी–२० क्रिकेट प्रतियोगिता’को उपाधि चुम्न सफल भएको छ । 

    मंगलबार सिद्धार्थ क्रिकेट रंगशालामा सम्पन्न फाइनलमा न्यू होराइजन ‘ए’ले जेसिस इङ्गलिस बोर्डिङ हाई स्कूललाई ४४ रनले पराजित गर्दै उपाधि हात पारेको हो । योसँगै साई ग्लोबल कपमा होराइजन लगातार दोस्रोपटक च्याम्पियन हुन सफल भएको छ ।

    जीतसँगै होराइजनले नगद ५० हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै, उपविजेतामा चित्त बुझाएको जेसिसले नगद २५ हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र पायो ।

    टस हारेर ब्याटिङको निम्तो पाएको होराइजनले निर्धारित खेलमा ७ विकेटको नोक्सानीमा १ सय २५ रनको बलियो योगफल बनायो । उसका लागि राहुल भण्डारीले अविजित ४५ रनको सर्वाधिक पारी खेले । यस्तै, विशाल भुसालले ४०, संगम पाण्डेयले १८ र अमर मिश्रले १२ रनको योगदान दिए । बलिङमा जेसिसका इकलाख अहम्मद र अरुण नाउले समान २–२ तथा शैलेन्द्र यादवले १ विकेट लिए ।

    जवाफी ब्याटिङ गरेको जेसिस १९ ओभर ४ बलमा अलआउट हुँदै ८१ रनमै समेटियो र फाइनल खेलमा उपाधि जित्नबाट चुक्यो । उसका लागि अस्मान थारुले १८, इकलाख अहम्मदले ११ र विन्दराम यादवले १० रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् र टीम उपाधि नजिक पुगेर पनि चुक्यो । उसलाई सस्तैमा रोक्न बलिङमा न्यू होराइजन ‘ए’का निरज घिमिरेले ३, निराजन भट्टराई र अमर मिश्रले समान २–२ तथा निश्चल ज्ञवाली र कमरन खानले १–१ विकेट लिए । होराइजनका राहुल भण्डारी म्यान अफ द फाइनल भई एक हजार रुपैयाँ  प्राप्त गरे ।

    प्रतियोगितामा प्यारामाउण्ट इङ्गलिस बोर्डिङ हाई स्कुलका ड्रस सुनार म्यान अफ द सिरिज घोषित भए । उनले नगद ५ हजार रुपैयाँका साथै ट्रफी र प्रमाणपत्र पाए । यस्तै, जेसिसका इकलाख अहम्मद बेष्ट बलर बने भने उपाधि विजेता टीम न्यू होराइजनका अमर मिश्र बेष्ट ब्याटर भए । उनीहरुले जनही २ हजार ५ सय रुपैयाँका साथै ट्रफी र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा साई ग्लोबल अनुशासित टीम घोषित भयो ।

    रुपन्देही क्रिकेट संघको आयोजना तथा साई ग्लोबल एकेडेमी भैरहवाको प्रमुख प्रायोजनमा सम्पन्न प्रतियोगितामा जिल्लाका २६ कलेजका टीमले सहभागीता जनाएका थिए ।

    विजेता र उपविजेता टीमलाई सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा अधिकारी, जिल्ला समन्वय समिति, रुपन्देहीका निवर्तमान प्रमुख एकराज विश्वकर्मा, नेपाल क्रिकेट संघका पूर्व कार्यवाहक सचिव प्रशान्त विक्रम मल्ल, रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि बहादुर थापा, संस्थापक अध्यक्ष प्रेम कुमार सेन्चुरी, साई ग्लोबल एकेडेमीका प्रबन्ध निर्देशक मोतिप्रसाद पौडेल, पञ्चकन्या समूहका महाप्रबन्धक देवेन्द्र साहुलगायतले पुरस्कार प्रदान गरे ।