२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

लुम्बिनीबाट छुटेको बस दुर्घटना : ५ जनाको मृत्यु, ३८ जनाको उद्धार

बुधवार , फाल्गुण २३, २०८०

भैरहवा । लुम्बिनीबाट काठमाण्डौका लागि छुटेको यात्रुबाहक बस धादिङ गजुरीस्थित गलौदीमा दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ ।

बस त्रिशूलीमा खस्दा पाँच जनाको ज्यान गएका जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता नायव उपरीक्षक (डीएसपी) सन्तु जैसवालले जानकारी दिए ।

सिद्धार्थ यातायातको लु २ ख २१२१ नम्बरको बस लुम्बिनीको पडरियाबाट काठमाण्डौका लागि छुटेको थियो । बस बिहान ४ः४१ बजे सडकबाट करिब १०० मिटर तल त्रिशूलीमा खसेको प्रहरीले जनाएको छ ।

बसमा कति जना यात्रु सवार थिए भन्ने एकिन गर्न लागिएको रुपन्देहीका प्रहरी प्रवत्ता मनोहर भट्टले जानकारी दिए । 

दुर्घटनास्थलबाट ३८ जनाको उद्धार गरिएको डीएसपी जैसवालले बताए । उद्धार गरिएकाहरूलाई नजिकैका स्वास्थ्य संस्थामा उपचारका लागि पठाइएको छ । उद्धार कार्य जारी रहेको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनास्थलमा सशस्त्र प्रहरीको गोताखोर टोलीले उद्धारका गरिरहेको छ । प्रहरीले बसका चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।