२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

प्रहरीको प्रयासले मात्र शान्ति सुरक्षा कायम हुँदैन : गृहमन्त्री पाण्डेय

बुधवार , फाल्गुण २३, २०८०

भैरहवा, २३ फागुन ।
लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेयले प्रहरीको एक्लो प्रयासले मात्र शान्ति सुरक्षा कायम हुन नसक्ने बताएका छन् । उनले प्रहरीलाई नागरिकको साथ, सहयोग र सहकार्य आवश्यक रहेकोमा जोड दिए ।

रुपन्देहीको मायादेवी गाउँपालिका वडा नम्बर ६ दुर्गौलियास्थित प्रहरी चौकी हाटीबनगाईको नवनिर्मित भवनहरुको बुधबार उद्घाटन गर्दै मन्त्री पाण्डेयले यस्तो बताएका हुन् । उनले भने, ‘जनताको सहयोगले प्रहरीले शान्ति सुरक्षा कायम गर्न सक्छ । प्रहरी देख्यो कि गाली गरिहाल्ने काम कृपया नगरिदिनुहोला । प्रहरी भनेको तपाईहरुकै परिवारका छोराछोरी हुन् । ’

429683546_689553709920985_4756748347697367270_n.jpg

‘प्रहरी मेरो साथी’ भन्ने नारा रहेको र कस्ता मान्छेलाई साथी बनाउने भन्नेमा ध्यान दिन उनले आग्रह गरे । ‘आम जनता जसले इमान्दारीपूर्वक लाग्छ र जो व्यक्ति जनताको पक्षमा लागिरहन्छ त्यसको लागि काम गरिदिनहुन मेरो आग्रह छ, ’उनले भने ।

लुम्बिनी प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री पाण्डेयले प्रहरीको साथ बिना शान्ति सुरक्षाको कल्पना गर्न नसकिने बताए । प्रहरीको नेतृत्वमा नै शान्ति सुरक्षा कायम गर्न सकिने उनको भनाइ छ । ‘यहाँका जनताले प्रहरीको साथमा रहेर काम गर्नुहोस् भन्ने म आग्रह गर्न चाहन्छु, यहाँको शान्ति सुरक्षाका लागि यहाँको सहयोग प्रहरीलाई रहोस्, ’उनले भने । 

प्रहरी कसैको दुश्मन नभएकोले आफूले गलत काम गर्दा प्रहरीले गलत गर्यो भन्न नहुने उनले बताए । प्रहरी छ भने हामी सुरक्षित छौैं भन्ने बुझ्न सके निश्चित रुपमा नेपालमा शान्ति सुरक्षा कायम गर्न सकिने मन्त्री पाण्डेयले बताए । शान्ति सुरक्षा कायम गर्न सके मात्र जीवनको लक्ष्य प्राप्त गर्न सकिने उनले बताए ।

मर्चवारी माताको पवित्र ठाउँ मर्चवारमा झगडा मात्रै गर्नुपर्छ, लड्नुपर्छ र मुद्दा दर्ता गर्नुपर्छ भन्ने मानसिकता त्याग्न उनले आग्रह गरे । ‘अबको बेला मर्ने होइन गर्ने हो । अबको विकास रुपन्देहीको मर्चवारबाट गर्नुपर्छ । मर्चवार मात्र किन पछाडी पर्ने भन्दै उनले प्रश्न गरे । ‘जिल्ला प्रहरी कार्यालयमा सबैभन्दा बढी भीड मर्चवारबासीको हुने गरेको देखिन्छ, प्रहरीकहाँ पुग्नेले मेरो भाइलाई, आफन्तलाई मुद्दा चलाउनुपर्यो भन्छन्’ । मुद्दा चलाएर मात्र समाधान हुँदैन ।’ उनले मर्चवार अब शान्ति, सुरक्षित र व्यवस्थित हुनुपर्नेमा जोड दिए ।

जातीयताको कुरा नभइ अब मानवताको कुरा गर्न आग्रह गरे । नेपाल गौतमबुद्धको जन्म भएको पवित्र भूमि भएको  र गौतमबुद्धले शान्तिको सन्देश फैलाएको उनले बताए ।

त्यस्तै लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) कुबेर कडायतले शान्ति सुरक्षा बिना विकास हुन नसक्ने बताए । उनले प्रहरीले धेरै रुपमा परिवर्तित र व्यवसायिक हुनुपर्नेमा जोड दिए । उनले प्रहरीले नागरिकको मन जित्नुपर्नेमा जोड दिए । उनले भने, ‘प्रहरी कर्मचारीले मान्छे कमाउन जरुरी छ । जबसम्म प्रहरी कर्मचारीले मान्छे कमाउँदैन, तबसम्म अपराध अनुसन्धान सफल हुँदैन ।’

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रंजित सिंह राठौरको स्वागत तथा प्रहरी निरीक्षक कौशल न्यौपानेको सञ्चालनमा भएको कार्यक्रममा प्राविधिक प्रहरी नायव उपरीक्षक ई.रोशन सारू मगरले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए । 

लुम्बिनी प्रदेश सरकारको नियमित बजेटबाट कुल १ करोड ८२ लाख ६७ हजार रुपैयाँको लागतमा उक्त भवनहरू निर्माण कार्यसम्पन्न भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

Hatibangai chauki.JPG
\

कार्यक्रममा गृहमन्त्री पाण्डेयले चौकी स्थापनाको लागी जग्गादान गर्ने रामवृक्ष यादव, राम नारायण यादव, नाथु थापा मगर लगायत भवन निर्माण कार्यमा सहयोग गर्ने विभिन्न व्यक्तित्वलाई प्रशंसा-पत्र प्रदान गरेका थिए ।

प्रहरी चौकी हाटीबनगाईको नवनिर्मित कार्यालय ब्यारेक र भान्साघर तथा शौचालयलगायत भवनहरुको उद्घाटन गरिएको हो ।
भवन उद्घाटन कार्यक्रममा पूर्व कृषिराज्य मन्त्री ओमप्रकाश यादव (गुल्जारी), लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व शिक्षामन्त्री वसिउद्दीन खाँ, सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव बहादुर कुँवरलगायतको उपस्थिति रहेको थियो ।