
बिहिवार , फाल्गुण २४, २०८०
भैरहवा, २४ फागुन ।
सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ को कार्यालय, रुपन्देहीको आयोजनामा बिहीबारदेखि महिलाहरूको लागि सातदिने उदघोषण तालिम सुरु भएको छ ।
शिवा कल्याण संस्थाको सहकार्यमा सुरु भएको तालिमको सिद्धार्थनगर नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ४ का वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला) ले उद्घाटन गरे । सो अवसरमा बोल्दै यादवले उदघोषण तालिम पश्चात उत्कृष्ट उदघोषण गर्ने सहभागीमध्येबाट एक जनालाई वडा कार्यालयबाट पुरस्कार प्रदान गर्ने घोषणा गरे ।
तालिमका प्रमुख प्रशिक्षक अग्नि शक्ति यादवले तालिमले महिलाहरुको बोल्ने भाषाशैलीको विकास गर्ने, लैंगिक हिंसा न्यूनीकरण, महिला सशक्तिकरणको लागि सचेत हुने तथा आफ्नो अधिकारको लागि आवाज उठाउने क्षमताको विकास गर्ने विश्वास व्यक्त गरे । तालिममा २० जनाको सहभागीता रहने उनले जानकारी दिए ।
शिवा कल्याण संस्थाका सदस्य देव मिश्राको अध्यक्षता, वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला) को प्रमुख आतिथ्यता, वडा सदस्य हरि बहादुर के.सी.को स्वागत मन्तव्य तथा अंकित पौडेलकोे सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा उदघोषण तालिमका प्रमुख प्रशिक्षक अग्नि शक्ति यादव, वडा सदस्यहरु हरि बहादुर के.सी., सईद अहमद धुनिया, मन्जु कुमारी चौधरी, इन्द्रमति धोबी, आमा समूहकी अध्यक्ष सुभद्रा पौडेल, शिवा कल्याण संस्थाका अध्यक्ष राज यादव, फूलबारी सेवा समाजका अध्यक्ष हुकुमराज गुरुङ, सिद्धार्थ बौद्ध गुम्बाका अध्यक्ष बुद्ध बहादुर गुरुङ, वडा सचिव अमित श्रेष्ठ, वडा कार्यालयका कम्प्युटर अपरेटर कल्पना खनाल लगायतको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij