२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

आस्था महिला उद्यमी संघको अध्यक्षमा मिनिता

बिहिवार , फाल्गुण २४, २०८०

भैरहवा, २४ फागुन । 
आस्था महिला उद्यमी संघ सिद्धार्थनगर नगरपालिका–९, रुपन्देहीको दोस्रो साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । बुधबार भैरहवामा भएको अधिवेशनले मिनिता थापा क्षेत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।
प्रमुख निर्वाचन अधिकृत सचिन रोक्काका अनुसार संघको प्रथम उपाध्यक्षमा माया शर्मा खनाल, द्वितीय उपाध्यक्षमा लक्ष्मी अधिकारी, तृतीय उपाध्यक्षमा कल्पना न्यौपाने, महासचिवमा पार्वती खनाल, सचिवमा उषा बेल्बासे र सह–कोषाध्यक्षमा सावित्रा भण्डारी निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यहरुमा विमला बेल्बासे, सम्झना रेग्मी, लक्ष्मी पाण्डेय, सरस्वती भट्टराई, मिना गिरी र विजया गिरी रहेका छन् ।
त्यस्तै संघले दुई जना सदस्यहरुलाई मनोनित गरेको छ । मनोनित सदस्यहरुमा रिना शर्मा ज्ञवाली र सुनयना केसी गिरी रहेका छन् । 

साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि चेम्बर अफ कमर्श रुपन्देही (उद्योग व्यापार संगठन) का अध्यक्ष दर्पण श्रेष्ठले आर्थिक मन्दीका कारण ठूला लगानीका व्यवसाय धरासायी हँुदै गइरहेको अवस्थामा घरेलु उद्योगहरुलाई राज्यले प्रोत्साहन गर्नुपर्ने बताए । उनले युवा जनशक्ति विदेश पलायन भइरहेको अवस्थामा केही मात्रामा भए पनि रोक्नका लागि घरेलु उद्योगहरुले उल्लेख्य भूमिका खेल्ने बताए ।

IMG_9592.JPG
undefined

चेम्बर अफ कमर्श रुपन्देहीका पूर्वअध्यक्ष तथा सल्लाहकार नारायण प्रसाद भण्डारीले अब महिलाहरु व्यवसायिक बन्नुपर्ने बताए । ‘अहिले सामान्य वस्तुहरु पनि विदेशबाट आयात भइरहेका छन्, स्थानीयस्तरमै उपलब्ध हुने कच्चा पदार्थबाट त्यस्ता किसिमका वस्तुहरु उत्पादन गर्न सकेमा वर्षेनी विदेश जाने लाखौं रकम रोक्न सकिन्छ,’उनले भने । सामान्यतया घरेलु उत्पादनहरुलाई यस क्षेत्रकै चिनारीका रुपमा प्रयोग गर्न सकिने उनले बताए । उनले महिलाहरुले उत्पादन गरेका सामग्रीहरु जस्तै : अचार, मायाको चिनो, धुप लगायतका सामाग्रीहरुलाई कोशेलीका रुपमा विक्री गर्न सकिने र यसबाट महिलाहरुले आयआर्जन गर्न सक्ने बताए ।
चेम्बर अफ कमर्श रुपन्देहीका निवर्तमान अध्यक्ष अनिल कुमार ज्ञवालीले राज्यले महिला उद्यमीहरुलाई न्यूनतम ब्याजदरमा ऋण लगानी गरी प्रोत्साहन गर्नुपर्ने बताए ।

महिला उद्यमी तथा आस्था महिला उद्यमी संघकी सल्लाहकार उषाकिरण गुरुङ्गले महिलाहरुले सीप सिकेर उद्यमी बन्नुपर्ने बताइन् । उनले अहिले महिलाहरु संगठित हुँदै गइरहेको र यस्ता संस्थाहरुले धेरै महिलाहरुलाई सीप, ज्ञान र आयआर्जनमा लाग्न प्रेरित गरेको बताइन् ।

नेपाल रेडक्रस सोसाइटी रुपन्देहीकी उपाध्यक्ष रुपमा हिराचनले महिलाहरु पनि सक्षम छन् भन्ने उदाहरण व्यवहारिक रुपमै देखिनुपर्ने बताइन् । उनले महिलाहरु घरभित्रै सीमित नभइ आफ्नो सीपलाई बजारसम्म पु¥याउन आग्रह गरिन् । उनले देशको जनशक्ति विदेश पलायन हुने क्रम बढ्दो देखिएकोले विदेश जानुभन्दा आफ्नै देशमा बस्ने वातावरण मिलाउनुपर्ने बताइन् ।

कार्यक्रममा दिप ज्योती महिला समूहकी अध्यक्ष शान्ता अधिकारी, सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीकी सदस्य यमकला न्यौपाने, जेसीआई सिद्धार्थ लेडीकी अध्यक्ष कृष्णा दाहाल, चेम्बर अफ कमर्श रुपन्देहीका उपाध्यक्ष सचिन रोक्का, कोषाध्यक्ष सुरेन्द्र पाण्डेय लगायतले बोलेका थिए ।

कार्यक्रममा आस्था महिला उद्यमी संघकी अध्यक्ष विन्दु न्यौपानेले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै भैरहवा क्षेत्रमा महिलाहरुलाई एकीकृत गरी सीपमूलक र रोजगारमूलक तालिमहरु प्रदान गरी दक्ष महिला उद्यमी उत्पादन गर्ने उद्देश्यले संघको स्थापना गरीएको बताइन् । उनले संघमा आबद्ध सदस्यहरुले विभिन्न क्षेत्रमा आयआर्जनका कामहरु गरिरहेको बताइन् । संघकी सचिव लक्ष्मी अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।