२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

भानु माविमा कक्षा १० का विद्यार्थीहरूलाई शुभकामना

शुक्रवार , फाल्गुण २५, २०८०

भैरहवा, २५ फागुन । 
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ स्थित श्री भानु माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरुले २०८० को माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारीमा रहेका कक्षा १० का विद्यार्थीहरूलाई परीक्षाको सफलताको शुभकामना व्यक्त गर्ने कार्यक्रम सम्पन्न गरेका छन् ।

कक्षा ९ की छात्रा कबिता मल्लाहको अध्यक्षता र विद्यालयका प्रधानाध्यापक मोतीलाल सुवेदीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।  कार्यक्रममा बोल्दै प्रधानाध्यापक सुवेदीले नगरभित्र सामुदायिक विद्यालयतर्फ कक्षा १२ को राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित परीक्षामा विगत ३ वर्षदेखि लगातार उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताए । उनले कानून विषयको पढाई हुने एक मात्र विद्यालय भएको साथै व्यवस्थापन एवं शिक्षा धारका पढाइ हुने भएकोले कक्षा ११ र १२ पढाइका लागि सबैको रोजाइमा रहेको बताए । उनले एसईई परीक्षामा राम्रो जीपीए ल्याई सफलता हासिल गर्न शुभकामना व्यक्त गरे ।

कार्यक्रममा सहायक प्रधानाध्यापक महेश प्रसाद गुप्ता र शिक्षक पिताम्बर पन्थले शुभकामना मन्तव्य राखेका थिए । कक्षा ९ का साविया खातुन र बीरध्वज वाइवाको सञ्चालनमा भएको कार्यक्रममा विद्यार्थीहरुले शुभकामना आदानप्रदानसँगै विविध साँस्कृति कार्यक्रमहरू प्रस्तुत गरेका थिए ।