२०८२, भाद्र १२ गते

Aug 28 2025 | २०८२, भाद्र १२ गते

आइतबारदेखि ‘ड्रीम युनिक रुपन्देही सुपर लिग–२०८०’ हुँदै

शुक्रवार , फाल्गुण २५, २०८०

  • 919
    Shares
  • 919
    Shares
  • भैरहवा, २५ फागुन ।
    रुपन्देही क्रिकेट संघको आयोजनामा फागुन २७ गते आइतबारदेखि भैरहवामा ‘ड्रीम युनिक रुपन्देही सुपर लिग–२०८०’ (क्रिकेट प्रतियोगिता) हुने भएको छ ।

    सिद्धार्थनगर नगरपालिका–३ स्थित सिद्धार्थ क्रिकेट रंगशालामा २०८१ वैशाख ४ गतेसम्म प्रतियोगिता सञ्चालन हुने आयोजकले शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएका छन् । 

    ड्रीम युनिक कन्सलटेन्सी, बुटवल मुख्य प्रायोजक रहेको प्रतियोगिता सञ्चालन गर्न करिब १५ लाख रुपैयाँ खर्च लाग्ने रुपन्देही क्रिकेट संघका सचिव संजय गुरुङले बताए । प्रतियोगितामा २० वटा टीमको सहभागीता रहने गुरुङले जानकारी दिए । प्रतियोगिता अवधिभर ३५ वटा खेलहरु हुने र खेल ५० ओभरको हुने उनले जानकारी दिए ।

    सहभागी हुने टीममा वेष्टर्न क्रिकेट क्लब, लुम्बिनी खुकुरी क्लब, एक्सपर्ट जी आर क्रिकेट क्लब, एमसीसी क्रिकेट क्लब, नेपथ्य ज्ञानोदय, शंकरनगर क्रिकेट, बुद्ध क्रिकेट क्लब, गोलपार्क क्रिकेट क्लब, प्रो मास्टर ११, बुटवल राइनोज, न्यू होराइजन क्रिकेट क्लब, तिलोत्तमा क्रिकेट क्लब, तिरुपति क्रिकेट क्लब, बुटवल ११, देवदह क्रिकेट क्लब, लुम्बिनी शाक्यान क्लब, सैनामैना क्रिकेट क्लब, साई ग्लोबल एकेडेमी, बुटवल यूथ क्लब र स्टार क्रिकेट एकेडेमी रहेको प्रतियोगिताका संयोजक प्रथम पराजुलीले बताए ।

    प्रतियोगिताको विजेतालाई रु. १ लाख १ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि बहादुर थापाले बताए । उनका अनुसार एभरेष्ट कत्था मिलले यो पुरस्कारको प्रायोजन गरेको छ ।

    त्यस्तै उपविजेतालाई रु. ५० हजार १ सहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिने थापाले जानकारी दिए । यो पुरस्कारको प्रायोजन बि.के. ज्वेलर्स बैंकरोड, भैरहवाले गरेको छ ।

    त्यसै गरी प्रतियोगिता अन्तर्गत सम्पूर्ण खेलमा म्यान अफ द म्याच हुनेलाई रु. १ हजार २ सयसहित प्रमाणपत्र प्रदान गरिनेछ । सो पुरस्कारको प्रायोजन ल्याण्डमार्क होटल एण्ड रिसोर्टले गरेको छ ।

    म्यान अफ द सिरिजलाई रु. १५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । उक्त पुरस्कारको प्रायोजकमा हाई–लाईट बुटवल रहेको छ ।

    प्रतियोगितामा बेष्ट ब्याटर, बेष्ट बलर र बेष्ट उदयमान खेलाडीलाई रु. ५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । यो पुरस्कारको प्रायोजन आईसीएफएसी फाइनान्स लिमिटेडले गरेको आयोजकले जनाएका छन् ।

    त्यस्तै प्रतियोगिता अन्तर्गत सम्पूर्ण खेलमा बलको प्रायोजन लुम्बिनी प्रदेश क्रिकेट संघका सल्लाहकार अमर गुप्ताले गर्ने संघले जनाएको छ ।

    पत्रकार सम्मेलनमा बोल्दै रुपन्देही क्रिकेट संघका निवर्तमान अध्यक्ष प्रशान्त विक्रम मल्लले धेरै चुनौतीका बाबजुद पनि रुपन्देही सुपर लिगले निरन्तरता पाएको बताए । उनले सुपर लिग आयोजना गर्न रुपन्देहीबासीको धेरै सहयोग रहेको बताए ।

    सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले क्रिकेट प्रतियोगिताको नतिजाले नै रुपन्देही क्रिकेटमा कति अगाडि छ भन्ने प्रमाणित गरेको बताइन् । उनले खेलकुद क्षेत्रमा सरकारले लगानी बढाउनुपर्ने भन्दै स्थानीय सरकारले सक्दो सहयोग गर्ने बताइन् ।