
मंगलवार , फाल्गुण ४, २०७७
भैरहवा, ४ फागुन ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर २ स्थित श्री मेउडिहवा आधारभूत विद्यालयमा व्यवसायिक भवन बन्ने भएको छ । करिब २३ लाखको लगानीमा बन्न लागेको भवनको बसन्त पञ्चमी (सरस्वती पूजा)को अवसर पारेर मंगलबार शिलान्यास गरिएको छ ।
करिब २–३ महिनामा निर्माणसम्पन्न हुने भवन निर्माणको लागि विभिन्न उद्योगी, व्यवसायी तथा समाजसेवीहरुको सहयोग रहने भवन निर्माण समितिका संयोजक रवि कुमार रौनियारले बताए । साढे ७ धुरमा पाँच वटा सटर रहेको भवन बन्ने र सटरबाट आउने भाडावापतको रकम विद्यालयको शैक्षिक क्षेत्रमा खर्चिने रौनियारले बताए । उनले आफ्नै आयस्रोत नभएका सामुदायिक विद्यालयहरुमा यस्तै व्यवसायिक भवन निर्माण गर्नुपर्नेमा जोड दिए ।
भवनको लुम्बिनी प्रदेशसभा सांसद सन्तोष कुमार पाण्डेयले शिलान्यास गरे । सो अवसरमा सांसद पाण्डेयले भने, ‘अरु राष्ट्रमा सरकारले देश चलाएको हुन्छ, जनतालाई हेरेको हुन्छ र समाजलाई विकसित गरेको हुन्छ, तर नेपालमा नागरिकले कर तिरेका छन्, आगामी दिनमा सरकारमा कसलाई पठाउने र कसलाई नेतृत्व दिने विषयमा ध्यान दिनुपर्छ ।’ उनले प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमार्फत विद्यालयको विकासको लागि योजना ल्याउने प्रतिबद्धता व्यक्त गरे । अब मानवताको विकासमा ध्यान दिनुपर्ने उनको भनाइ थियो ।
त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले सरकार जिम्मेवार हुनुपर्ने बताए । उनले शिक्षा क्षेत्रको विकासको लागि सरकारले काम गरे पनि त्यो प्रयाप्त नभएको बताए । उनले विद्यालयको व्यवसायिक भवन निर्माणको लागि आफुले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक प्रवीण पोखरेलले भवन निर्माण समयमै सम्पन्न हुने विश्वास व्यक्त गरे । उनले पछिल्लो समय मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउनाले सवारी दुर्घटना बढेकोले यसतर्फ गम्भिर हुनुपर्ने बताए ।
सिद्धार्थनगर नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष दिपक कुमार थापाले वडा कार्यालयबाट विद्यालयलाई सहयोग गर्ने बताए ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सिद्धार्थनगरका अध्यक्ष राजेश ढकालले विद्यालयमा व्यवसायिक भवन निर्माणको सुरुवात गर्नु सराहनीय कार्य भएको बताए । उनले यस्तो कार्यमा हातेमालो गरेर अगाडी बढ्ने बताए ।
रोटरी क्लब अफ भैरहवाका अध्यक्ष शिवहरि शर्माले राज्यले आफ्नो जिम्मेवारी बहन गर्न नसक्दा सामाजिक संघ–संस्थाहरु शिक्षा क्षेत्रको विकासमा अझ क्रियाशिल हुँदै गएको बताए ।
विद्यालयकी प्रधानाध्यापक आशा थापाले इतिहास बोकेको विद्यालयको आफ्नै कथा व्यथा रहेको बताइन् । लायन्स क्लब अफ सिद्धार्थनगर सेन्टिनियलका अध्यक्ष राजेन्द्र थापाले विद्यालयमा व्यवसायिक भवन बन्नु राम्रो कार्य भएको बताए ।
समाजसेवी मोहन थापा क्षेत्रीले २०१६ सालमा स्थापना भएको विद्यालयको विकासको लागि अझ धेरै काम गर्न बाँकी रहेको बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गजेन्द्र कोहारको अध्यक्षता तथा पूर्व प्रअ हेमन्त अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij