२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

‘सामाजिक क्षेत्रमा काम गर्दा सरकारी निकायसँग सहकार्य आवश्यक’

मंगलवार , फाल्गुण २९, २०८०

भैरहवा, २९ फागुन ।
सामाजिक क्षेत्रमा काम गर्दा सरकारी निकायसँग सहकार्य आवश्यक रहेको एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । उनीहरुले सरकारी निकायको सहयोग अपरिहार्य रहेको बताए ।

लायन्स क्लब अफ सिद्धार्थनगर सेन्टिनियलले सोमबार भैरहवामा आयोजना गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रंजित सिंह राठौरको स्वागत तथा सम्मान कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ पी, नेपालका डिष्ट्रिक गभर्नर अर्जुनमान सैजुले सामाजिक क्षेत्रमा काम गर्दा सरकारी निकायको सहयोग आवश्यक रहेको बताए । उनले सामाजिक तथा स्थानीय क्षेत्रमा काम गर्दै आएको लायन्स सरकारी निकायसँग सहकार्यमा पनि अगाडि रहेको बताए । उनले भने, ‘प्रहरी कार्यालय विभिन्न कार्यक्रममा जोड्ने निकाय हो । ’ गभर्नर सैजुले एसपी रंजित सिंह राठौरको सुखद र सफल कार्यकालको शुभकामना व्यक्त गरे । उनले रुपन्देहीका जनताले सम्झने खालको काम गर्न आग्रह गरे ।

त्यस्तै रुपन्देही प्रहरी प्रमुख (एसपी) रंजित सिंह राठौरले लायन्ससँग धेरै ठाउँमा सहकार्य गरिएको बताए । उनले उद्देश्य एउटै र बाटो फरक भएको बताए । उनले भने, ‘समाजलाई सुरक्षित र अपराधमुक्त राख्ने हाम्रो उद्देश्य हो । प्रहरी एक्लैले मात्र लागेर हुँदैन । नागरिकको साथ र सहयोग आवश्यक छ । ’

उनले बोर्डर क्षेत्र र धेरै जनघनत्व, धेरै कलकारखाना भएको रुपन्देही तीव्र गतिमा विकास भइरहेको र यहाँ केही शान्ति सुरक्षाको चुनौती रहेको बताए । उनले लायन्स तथा विभिन्न संघ–संस्थाहरुसँग सहकार्य गरेर जनचेतनामूलक कार्यक्रम गर्ने बताए ।
निवर्तमान डिष्ट्रिक गभर्नर नवराज न्यौपानेले लायन्सले प्रहरीसँग हातेमालो गर्दै अघि बढेको बताए ।

सेकेण्ड भाइस डिष्ट्रिक गभर्नर बालाराम भट्टराईले रुपन्देही विशेष महत्व राख्ने जिल्ला बताए ।

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ पी, नेपालका सचिव विनोद खरेलले प्रहरीले जनतासँग जोड्नुपर्ने भएकाले यस्ता कार्यक्रम महत्वपूर्ण रहेको बताए ।

एरिया–५ का एरिया चिफ सतिश कुमार कौसल (दीपक) ले प्रहरी र लायन्सबीच सहकार्य आवश्यक रहेको बताए ।

लायन्स क्लब अफ सिद्धार्थनगर सेन्टिनियलका अध्यक्ष भोजराज बस्यालले क्लबले प्रहरी-प्रशासनसँग सहकार्य गर्दै अघि बढ्ने बताए ।

कार्यक्रम संयोजक तथा लायन्स सिद्धार्थनगर सेन्टिनियलका निवर्तमान अध्यक्ष गजेन्द्र कोहारको स्वागत, सह–कोषाध्यक्ष सुनिता खातीद्वारा ध्वजा अभिवादन गरिएको कार्यक्रमको सञ्चालन क्लबका द्वितीय उपाध्यक्ष विपिन साहले गरेका थिए ।

sammannnnkk.jpg