२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

सुक्रौली स्वास्थ्य चौकीको नवनिर्मित भवनको उद्घाटन

मंगलवार , फाल्गुण ४, २०७७

परासी, ४ फागुन । 
नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर १६ स्थित सुक्रौली स्वास्थ्य चौकीको नवनिर्मित भवन एक कार्यक्रमबीच उद्घाटन भएको छ । उक्त दुईतल्ले सुविधायुक्त नवनिर्मित स्वास्थ्य चौकी भवनको कार्यक्रमका प्रमुख अतिथि रामग्राम नगरपालिका प्रमुख नरेन्द्र कुमार गुप्ताले रिबन काटेर तथा शिलालेख अनावरण गरी उद्घाटन गरेका हुन् । 

स्वास्थ्य चौकीको आयोजना तथा नगरपालिका वडा नम्बर १६ का अध्यक्ष भगवान चौधरीको अध्यक्षतामा भएको उद्दघाटन कार्यक्रममा नगरप्रमुखले उद्घाटन गर्दै भवनको निरीक्षण पनि गरेका हुन् । 

कार्यक्रमलाई सम्बोधन गर्दै गुप्ताले स्वास्थ्य चौकीबाट स्थानीयले छिटोछरितो गुणस्तर तथा प्रभावकारी उपचार सेवा पाउने विश्वास व्यक्त गरे । उनले चौकीको सेवालाई थप विस्तार गर्दै यहाँ बर्थिङ्ग सेन्टर पनि स्थापना गर्ने बताए । उनले नगरपालिका भित्रका जुनसुकै वडाका गर्भवती महिलाहरुलाई अस्पतालमा सुत्केरीका लागि स्वास्थ्य चौकीमा जान र फर्कन छिटै निःशुल्क रुपमा एम्बुलेन्स पनि संचालन गर्ने बताए । उनले वडा वडाहरुमा पनि उपचार सेवा प्रदान गर्न आधारभूत स्वास्थ्य चौकीहरुको स्थापना भइरहेको बताए ।

१ करोड ५४ लाख ६५ हजार ९६० रुपैयाको लागतमा सुविधायुक्त भवनलाई ज्ञानज्योती सिर्जनशिल कन्सट्रक्शनले निर्माण गरेको छ । विगत लामो समयदेखि उपचार सेवा प्रदान गर्दै आएको उक्त स्वास्थ्य चौकी नगरपालिकाभित्रकै अब्वल स्वास्थ्य चौकी रहेको छ । उक्त स्वास्थ्य चौकी भवनका लागि तिन जना स्थानीयले मिली ३ कट्टा जग्गा दानको ठाउँमा उक्त भवन बनेको छ । 

कार्यक्रममा भवन निर्माणका लागि १ कट्टा १० धुर जग्गा दान गर्ने स्वर्गीय ढेला थारुको छोरा श्रीनारायण चौधरीलाई दोसल्ला ओढाई सम्मान पनि गरिएको थियो । त्यस्तै भवनकै लागि १० धुर जग्गा दान गर्ने बेचन थारु, १० धुर जग्गा दान गर्ने जुठाई थारुलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा स्वास्थ्य चौकी संचालनका लागि निशुल्क रुपमा आफनो घर उपलब्ध गराउने रामचन्द्र गुप्ता, घनश्याम मल्ल र भगवती मल्ललाई पनि दोसल्ला ओढाई सम्मान गरिएको थियो । 

कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख नरेन्द्र कुमार गुप्ता, वडा नम्बर १६ का अध्यक्ष भगवान चौधरी, वडा नम्बर १५ का अध्यक्ष धनपत यादव, सुआहाराका जिल्ला संयोजक कृष्ण गुरुङ, नेपाल पत्रकार महासंघका जिल्ला सदस्य हुसैन अंसारी, डैनहवाँ विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामटहल गुप्ता, हकुई स्वास्थ्य चौकीका ईन्चार्ज निजाम मिँया, टोल विकास समतिका अध्यक्ष दिपक चौधरी, समाजसेवी रामचन्द्र गुप्ता, मुरारी प्रसाद चौधरी, सुनिल लामिछाने लगायतले शुभकामना मन्तव्य राखेका थिए ।