२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

ट्याक्टर दुर्घटनाका घाइते भेट्न सिटी हस्पिटल पुगे मन्त्री पाण्डेय

बिहिवार , चैत्र १, २०८०

भैरहवा, १ चैत ।
लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेय रुपन्देहीको भैरहवास्थित सिद्धार्थनगर सिटी हस्पिटल पुगेका छन् । मर्चवारमा बिहीबार भएको ट्याक्टर दुर्घटनाबाट घाइते भएकाहरुलाई भेट्न मन्त्री पाण्डेय हस्पिटल पुगेका हुन् ।

घाइतेहरुको स्वास्थ्य अवस्था बुझेपछि अस्पतालका स्वास्थ्यकर्मीहरुसँग कुराकानी गर्दै उनले उपचारमा कुनै कमी हुन नदिन  आग्रह गरे । 

लुम्बिनी प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री पाण्डेयले भने, ‘उपचार राम्रो होस् भन्ने कुरा अस्पताल प्रशासनलाई भनिएको छ । हामी आवश्यक समन्वय गर्छौं । ’ मन्त्री पाण्डेयले घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

त्यस्तै मन्त्री पाण्डेयसँगै अस्पताल पुगेका लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व शिक्षा मन्त्री वसिउद्दीन खानले मर्चवारमा भएको ट्याक्टर दुर्घटनाप्रति दुःख व्यक्त गरे । उनले आगामी दिनमा यस्ता घटना नदोहोरियोस् भन्दै कामना गरे । उनले भने, ‘आर्थिक  अभावमा उपचार बन्द नहोस् । ’ 

IMG_0723.JPG

अस्पतालका डा. अमित चर्तुवेदीले अस्पतालमा ट्याक्टर दुर्घटनाबाट घाइते ३४ जनाको उपचार भइरहेको बताए । अस्पतालका प्रबन्ध निर्देशक अर्जुन पौडेलले भने, ‘बिरामीहरुको (घाइते) को उपचार भइरहेको छ । ’

मर्चवारमा पूजाको लागि जल भर्न गएको ट्याक्टर पल्टिएको हो । कोटहीमाई गाउँपालिका–७ कटयाबाट कोटहीमाई–५ दुईमोहानमा जल भर्न गएको लु १ त ५५४७ नम्बरको ट्याक्टर पल्टेको ईलाका प्रहरी कार्यालय मझगावाका प्रमुख प्रहरी निरीक्षक हिमनाथ घिमिरेले बताए । घाइतेमध्ये दुईजनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।