
शुक्रवार , चैत्र २, २०८०
बुटवल, २ चैत ।
उद्योग व्यापार संघ बुटवलमा अटोमोबाइल्स वस्तुगत समिति गठन भएको छ । संघ सचिवालयमा शुक्रबार भएको बेलाले शोभाखर भण्डारीको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेको हो ।
समितिको सह–संयोजकमा जीवन बोहरा, सचिवमा महेश पन्थी, कोषाध्यक्षमा रोहित मिश्र र सदस्यहरुमा सुर्यकान्त सिंह, माधव भण्डारी, अर्जुन पाण्डे, खिमकान्त रेग्मी, कृष्ण पाण्डे र माधव खनाल चयन भएका छन् । एक जना सदस्य पछि मनोनित गरिने संघले जनाएको छ ।
सो अवसरमा बोल्दै नेपाल उद्योग व्यापार महासंघका महासचिव खिमनारायण पराजुलीले विशेष गरी साना तथा मझौला उद्योगी व्यवसायीका समस्या समाधान र नीतिगत सुधारका लगि महासंघले स्थानीयदेखि केन्द्रसम्म संगठनलाई सशक्त बनाई तीनै तहका सरकारसम्म पहुँच बढाएको बताए । अटो मोबाइल पार्ट्समा भन्सार दर घटाउन र खुला सीमाबाट हुने अवैध कारोबार नियन्त्रण गर्न सके व्यवसायीलाई राहत हुने पराजुलीले बताए ।
संघका सल्लाहकार ज्योति भण्डारीले वस्तुगत समिति गठनले सम्बन्धित व्यवसायका समस्या पहिचान र समाधानमा संघमार्फत पहल गर्न सहज भएको बताए ।
संघका अध्यक्ष विष्णु पाण्डेले चर्को बैंक ब्याजदर, भन्सार दर र घर भाडा लगायत समस्या समाधानमा संघले व्यवसायीका हकहितका पक्षमा अग्रणी भूमिका खेलेको बताए ।
वस्तुगत समिति गठनका संयोजक एवं संघका उद्योग उपाध्यक्ष पदम जिसीले संघमा पहिलो समिति अटोमोबाइल्सको भएको र क्रमशः अन्य समितिहरू पनि गठन गर्दै जाने बताए । सो अवसरमा संघका वरिष्ठ उपाध्यक्ष लोकनाथ पन्थी, महिला उपाध्यक्ष अन्जु पाण्डे, महासचिव यमलाल मरासिनी, अटो मोबाइल्स समिति संयोजक शोभाखर भण्डारीले व्यवसायीलाई आइपर्ने हरेक समस्यामा संघ साथमा रहेको बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij