
आइतवार , चैत्र ४, २०८०
भैरहवा, ४ चैत ।
वातावरण बचाउ आन्दोलन सिद्धार्थनगर रुपन्देहीद्वारा सञ्चालित सामुदायिक रेडियो रुपन्देही एफ.एम.को सातौं वार्षिक साधारण सभा शनिबार भैरहवामा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष राजेन्द्र प्रसाद पन्थीको अध्यक्षतामा भएको कार्यक्रममा रेडियो सञ्चालक समितिका अध्यक्ष डा. रामप्रसाद वस्यालले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै संस्थाका कोषाध्यक्ष राजेश खरेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि संविधानसभा सदस्य आदित्य नारायण कशौधनले रुपन्देही एफ.एम.नगरको गहना भएको बताए । उनले रेडियोको प्रगतीको कामना गरे ।
कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष नारायण प्रसाद सापकोटा, पूर्वअध्यक्ष अधिवक्ता कुलानन्द ज्ञवाली लगायतले बोल्दै रेडियोको स्थापनादेखि अहिलेसम्मका काम र गतिविधिका बारेमा चर्चा गरेका थिए । सो अवसरमा संस्थापक अध्यक्ष सापकोटा, पूर्वअध्यक्ष ज्ञवाली र पत्रकार रामेश्वर भट्टलाई सम्मान गरिएको थियो ।
एफ.एम. सञ्चालक समिति सदस्य तथा सिद्धार्थनगर नगरपालिकाका निवर्तमान नगरप्रमुख हरि प्रसाद अधिकारीको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन रेडियोका स्टेशन म्यानेजर शंकर प्रसाद पाण्डेले गरेका थिए । संस्थाको अधिवेशन भने चैत ११ गते आइतबार बिहान ८ बजे गर्ने साधारण सभाले निर्णय गरेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij