२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

मानव बेचबिखनविरुद्धको अभियानमा निजी क्षेत्रको भूमिका

बुधवार , फाल्गुण ५, २०७७

बुटवल, ५ फागुन ।
मानव बेचबिखनविरुद्धको अभियानमा निजी क्षेत्रको भूमिका खोजी भएको छ । मानव बेचबिखनविरुद्ध नेपाली निजी क्षेत्र (एन.बी.आई.) र बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको सहकार्यमा सोमबार बुटवलमा उद्योगी व्यवसायीलाई अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम समेत गरिएको छ ।

मानव बेचबिखन बढ्दै गएकोले एन.बी.आई.को संयोजनमा हाम्रो सम्मान परियोजना सञ्चालन गरिएको एन.बी.आई.का लुम्बिनी प्रदेश इञ्चार्ज सरोज पाण्डेले बताए ।

युएसएआईडी र युकेएआईडीको आर्थिक सहयोगमा विनरक इन्टरनेशनलले पञ्चवर्षीय हाम्रो सम्मान परियोजना २०१७ देखि सुरु गरिएको थियो भने यसले बागमती, लुम्बिनी र सुदुरपश्चिम प्रदेशमा काम गरिरहेको छ । मानव बेचबिखन रोकथाम, संरक्षण, अभियोजन र साझेदारीमार्फत नेपालमा मानव बेचबिखन न्यूनीकरण गर्ने लक्ष्य लिइएको उनले जानकारी दिए । मानव बेचबिखन पीडित तथा जोखिममा परेकालाई आवश्यक सेवा प्रवाहित गर्न निजी क्षेत्रलाई अभिमुखीकरण गर्नुका साथै प्रतिवद्धता समेत खोजिएको उनले बताए ।

कार्यक्रममा बोल्दै बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले मावन बेचबिखन जघन्य अपराध भएकोले पीडित तथा जोखिममा परेका व्यक्तिहरुको उद्दारको लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । उनीहरुलाई समाजमा पुनःस्थापित गर्नको लागि स्वास्थ्य उपचार, रोजगारी तथा सामाजिक उत्तरदायित्व कोषबाट आर्थिक सहायता उपलब्ध गराउन सकिने विचार व्यक्त गरे ।

रुपन्देही जिल्ला बार एशोसियशनका अध्यक्ष लोकनाथ पन्थले पहिले यौनजन्य क्रियाकलापका लागि बेचबिखनमा परेकालाई मात्रै मानव बेचबिखन भनिए पनि अहिले कानुनले नै बाध्यात्मक श्रम, यौन शोषण, संरचनागत बाध्यात्मक श्रम शोषणलाई मानव बेचबिखनको परिभाषा गरेको बताउँदै यसका पीडित तथा जोखिममा परेका व्यक्तिको उद्दार तथा पुनःस्थापनाको लागि निजी क्षेत्रले रोजगारी, औषधोपचार, कानूनी सहायता, आश्रित बालबालिकालाई शैक्षिक छात्रवृत्ति, उचित बासस्थान, सीपमुलक तालिम तथा आर्थिक सहयोग गर्न सक्ने बताए । त्यसै गरी मानव बेचबिखन रोकथामको लागि निजी क्षेत्रले नीजिमा संलग्न गर्ने, आफ्ना कर्मचारीलाई अभिमूखीकरण, अनुगमन समिति व्यवस्थापन, सामुदायिक जागरण लगायतका काम गर्न सक्ने उनको भनाइ छ ।

त्यस अवसरमा बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका सल्लाहकारहरु पूर्व अध्यक्ष अर्जुनमान सैंजु, निर्मलप्रसाद लाकौल, बिटीआईका कार्यकारी निर्देशक पिएल श्रेष्ठ, तिनाउ मिसन डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रदिपकुमार श्रेष्ठ लगायतले अवधारणा राम्रो र समाज उत्थानको लागि अति आवश्यक रहेको बताएका थिए । बुटवल उद्योग वाणिज्य संघका कार्यकारी निर्देशक मदनकुमार कार्कीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।