२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

रूपन्देही सुपर लिग : गोलपार्क ४ विकेटले विजयी

बिहिवार , चैत्र ८, २०८०

भैरहवा, ८ चैत ।
भैरहवामा जारी ‘ड्रिम युनिक रुपन्देही सुपर लिग’ एकदिवसीय क्रिकेट प्रतियोगितामा बिहीबार भएको डिभिजन ‘बी’ अन्तर्गतकोे खेलमा गोलपार्क क्रिकेट क्लब विजयी भएको छ । गोलपार्कले सैनामैना क्रिकेट क्लबलाई ४ विकेटले हराउँदै जीत हात पारेको हो ।

सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सैनामैनाले निर्धारित ५० ओभरको खेलमा ४४ ओभर ४ बल खेल्दै सबै विकेट गुमाएर २ सय ६ रन बनाए । उसका लागि मनिष क्षेत्रीले ५३ रन बनाउँदा सुजन क्षेत्रीले २९, गणेश गौतमले २४, प्रदीप सुवेदीले २३, गोपाल शर्माले अविजित २१, गणेश गौतमले १८ र आरिफ खानले १४ रन जोडे । बलिङमा गोलपार्कका आषिश लोहनीले ४, अमन घिमिरे र नवजीवन क्षेत्रीले समान २–२ तथा प्रदीप भण्डारीले १ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको गोलपार्कले ४० ओभर १ बलमा ६ विकेट गुमाउँदै २ सय ७ रन बनाउँदै जित निकाल्यो । उसको जितमा ७० बलको सामना गरेको ईश्वर क्षेत्रीले ९३ रन बनाए । यस्तै, संदीप बानियाले २८, आषिश लोहनीले १६, अमन घिमिरेले १४ र युवराज सुवेदीले नटआउट १० रनको योगदान दिए । बलिङमा सैनामैनाका सुनिल पौडेलले २ तथा गणेश गौतम, प्रदीप सुवेदी र आरिफ खानले समान १–१ विकेट लिए । खेलमा गोलपार्कका ईश्वर क्षेत्री प्लेयर अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।

रुपन्देही क्रिकेट संघको आयोजना तथा ड्रिम युनिक कन्सलटेन्सी प्रालि, बुटवलको मुख्य प्रायोजनामा जारी प्रतियोगिताको विजेता टिमले १ लाख १ हजार र उपविजेताले ५० हजार १ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीलाई जनही ५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । त्यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचलाई १ हजार २ सय रुपैयाँ दिइनेछ । आगामी वैशाख ४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा जिल्लाका ‘ए’ र ‘बी’ डिभिजनका २० टीमको सहभागिता रहेको संघका सदस्य समेत रहेका प्रतियोगिता संयोजक प्रथम पराजुलीले जानकारी दिए ।