२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.को दोस्रो अधिवेशनको तयारी अन्तिम चरणमा

शुक्रवार , चैत्र ९, २०८०

बुटवल, ९ चैत । 
पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.बुटवलको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन आगामी चैत १६ र १७ गते बुटवलमा सम्पन्न हुने भएको छ । वि.सं. २०२६ सालमा स्थापना भएको भए पनि प्रा.लि.मा रुपान्तरित भएका कारण प्रा.लि.को चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन हुने भएको हो । 

हाल कुल २ हजार २ सय शेयर सदस्य रहेको तथा कम्पनी ऐन २०६४ अनुसार पश्चिम नेपाल बस व्यवसायी संघबाट रुपान्तरित प्रा.लि.को हालै बसेको बैठकले अधिवेशन तथा साधारण सभा सम्बन्धी निर्णय गरेको अध्यक्ष दधिराम खरेलले बताए । अध्यक्ष खरेलका अनुसार विगतमा पश्चिम नेपाल यातायात समिति, बस व्यवसायी संघ हुँदै प्रा.लि.मा रुपान्तरित पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.को साधारण सभा तथा अधिवेशनको तयारी अन्तिम चरण पुगेको छ । 

बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सम्पन्न हुने सो साधारण सभा तथा अधिवेशनको आवश्यक तयारी भैरहेको प्रा.लि.का प्रबन्ध सञ्चालक रामचन्द्र भुसालले जानकारी दिए । नेपालका नयाँ शहर निर्माण, मुलुकको समृद्धि र विकासमा यातायात क्षेत्रको भूमिका महत्वपुर्ण रहेको भुसालको दावी छ । 

प्रबन्ध सञ्चालक भुसालका अनुसार पछिल्लो समय विशेष रुपमा व्यसायिक हकहित, सवारी व्यवस्थापन र दुर्घटना न्यूनीकरणमा टेवा पुर्याउने उद्देश्यले विभिन्न नीतिगत, विधिगत र सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको प्रा.लि.को यो अधिवेशनले आगामी ३ वर्षका लागि नयाँ सञ्चालक समिति चयन गर्नेछ ।

प्रा.लि.ले सार्वजनिक यातायात सेवालाई थप व्यवस्थित र मर्यादित बनाउने कुरामा जोड दिइरहेको प्रा.लि.का सञ्चालक तथा लेखा संयोजक मोहन पिएसले बताए ।

प्रा.लि.का सञ्चालक एवं सवारी व्यवस्थापन तथा दुर्घटना न्यूनीकरण समितिका संयोजक नारायण घिमिरेका अनुसार वि.सं. २०२६ सालमा पश्चिम नेपाल यातायात समितिको नाममा स्थापना भएको भएको सो पश्चिम नेपाल बस व्यवसायी संघ हुँदै आर्थिक वर्ष २०७५/०७६ मा प्रा.लि.मा रुपान्तरित भएको थियो । 

स्थापनाकालदेखि नै व्यवसायिक हकहित संरक्षणमा जोड दिँदै आएको प्रा.लि.ले विभिन्न समयमा उत्कृष्ट व्यवसायी, लामो समयदेखि दुर्घटना नगरी सुरक्षित यात्रा गराउने उत्कृष्ट चालकहरु र सञ्चार क्षेत्रबाट यातायातको क्षेत्रमा सहयोग पुर्याउने पत्रकार लगायतलाई पुरस्कृत एवं सम्मान प्रदान गर्दै आइरहेको सञ्चालक घिमिरेको भनाइ छ ।