
आइतवार , चैत्र ११, २०८०
परासी, ११ चैत ।
पश्चिम नवलपरासी क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य ध्रुवबहादुर प्रधानले प्रसिद्ध धार्मिक स्थल त्रिवेणीधाम र मदारबाबालाई लुम्बिनी प्रदेशमा ल्याउन आन्दोलनको तयारी भइरहेको बताएका छन् ।
सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद् प्रधानले यी दुवै तीर्थस्थल गण्डकी प्रदेशमा हुँदा त्यहाँका स्थानीयबासीलाई असहज हुनुका साथै पश्चिम नवलपरासीको विकासमा समेत असर पुगेको बताए ।
संविधान निर्माणको क्रममा साविक नवलपरासी जिल्ला टुक्रिएपछि त्रिवेणीधाम र मदारबाबाको समाधीस्थल गण्डकी प्रदेशको पूर्वी नवलपरासी जिल्लामा समावेश गरिएको थियो । यी दुवै पवित्र तीर्थस्थल गुमाउँदा पश्चिम नवलपरासी जिल्ला विकासमा पछि परेको सांसद् प्रधानको भनाइ छ ।
त्रिवेणीधाम र मदारबाबा स्थल लुम्बिनी प्रदेशमै ल्याउने गरी अब आन्दोलनको विकल्प नभएको उनले बताए ।
पूर्व कानूनमन्त्री समेत रहेका प्रधानले पश्चिम नवलपरासीका सबै राजनीतिक दल, नागरिक समाज तथा आम नागरिक मिलेर त्रिवेणी र मदारबाबा फिर्ता ल्याउन आन्दोलन गर्नुको विकल्प नभएको बताए । यसका लागि केही समयमै वृहत आन्दोलन सुरु गरिने उनको भनाइ छ ।
त्रिवेणी क्षेत्र गण्डकी प्रदेशमा हुँदा त्यहाँका स्थानीय बासिन्दालाई समेत असहजता छ । आफ्नै पालिका र सदरमुकाम पुग्न घण्टौ यात्रा गर्नुपर्ने बाध्यता स्थानीयलाई छ । त्रिवेणीधाम यस क्षेत्रको महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थल हो । यहाँ दैनिक एक हजार बढी आन्तरिक तथा बाह्य पर्यटक आउने गर्दछन् । नारायणी, सोनभद्र र पुर्णभद्र नदीको संगम स्थल त्रिवेणी हिन्दुहरुको पवित्र तीर्थस्थल हो ।
गजेन्द्र मोक्ष धामको रुपमा समेत परिचित यो क्षेत्रमा पौराणिक कालमा गजेन्द्र अर्थात हात्ति नारायणीमा जलविहार गरिरहेको अवस्थामा ग्राह अर्थात गोहीले खुट्टामा समाउँदा लामो समय युद्ध भइ गजेन्द्रले भगवान विष्णुको पुकार गरी गरुणारुढ भगवान विष्णुको अवतार लिई सुदर्शन चक्रले गोहीको शिर छेदन गरी गजेन्द्रको मोक्ष गरेको किम्बन्दी पाइन्छ ।
मदारबाबा पनि हिन्दु र ईस्लाम धर्मावलम्बीहरुको आस्थाको केन्द्र हो । बर्दघाटबाट २१ किलोमिटर पूर्वमा रहेको यो स्थलमा हिन्दुको शिवरात्री शुरु हुनु भन्दा एक हप्ताअघि देखि ठूलो मेला लाग्ने गर्दछ, जहाँ नेपाल र भारतका लाखौँ भक्तजनहरु पुग्ने गर्दछन् । यो स्थल मुस्लिम समुदायको लागि नेपालकै ठूलो र ऐतिहासिक स्थल हो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij