२०८३, श्रावण ७ गते

Jul 23 2026 | २०८३, श्रावण ७ गते

होलीमिलन कार्यक्रममा व्यवसायीको कामना : मुलुकको आर्थिक अवस्थामा सुधार आओस्

सोमवार , चैत्र १२, २०८०

  • 871
    Shares
  • 871
    Shares
  • भैरहवा, १२ चैत ।
    मुलुकको आर्थिक अवस्थामा सुधार आओस् र उद्योग–व्यवसाय फस्टाओस् भन्दै व्यवसायीहरुले कामना गरेका छन् । मदिरा व्यवसायी संघ भैरहवा, रुपन्देहीले आइतबार भैरहवामा आयोजना गरेको होली मिलन कार्यक्रममा व्यवसायीहरुले यस्तो कामना गरेका हुन् ।

    कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले असत्यमाथि सत्यले जितेको खुसीयालीमा होली पर्व मनाउने गरिएको बताए । उनले भने, ‘रंग जस्तै बदल्ने हाम्रो स्वभाव नहोस् । होली पर्वको माध्यमबाट एकआपसमा केही तिक्तता रहे हटाउनुपर्छ ।’ अध्यक्ष श्रेष्ठले मुलुकको आर्थिक अवस्थामा सुधार आओस् भन्दै कामना गरे ।

    नेपाल मदिरा व्यवसायी महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शम्भु प्रसाद भट्टराईले नेपाली जनतालाई आर्थिक मन्दीले सताएको बताए । उनले व्यवसायलाई बचाउनुपर्ने धारणा राखे ।

    त्यस्तै मदिरा व्यवसायी महासंघका केन्द्रीय सदस्य प्रितम गिरीले एकआपसमा सम्बन्ध अझ प्रगाढ बनोस् भन्दै कामना गरे ।

    मदिरा व्यवसायी संघ भैरहवाका सल्लाहकार खिम बहादुर खत्रीले नयाँ उत्साहका साथ अघि बढ्ने उर्जा मिलोस् भन्दै शुभकामना व्यक्त गरे । उनले भने, ‘अहिले हामी अफ्ठयारो अवस्थामा छौं । उद्योग व्यवसाय राम्रोसँग अघि बढोस् । ’

    सिद्धार्थ सञ्जाल, रुपन्देहीका संस्थापक अध्यक्ष अनिल कुमार ज्ञवालीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने र व्यवसाय फस्टाउने कामना गरे ।

    चेम्बर अफ कमर्श, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) का वाणिज्य उपाध्यक्ष राम मिलन यादवले होली पर्व सभ्य र भव्य रुपमा मनाउनुपर्नेमा जोड दिए ।

    होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीका निवर्तमान अध्यक्ष पिताम्बर न्यौपाने (विष्णु)ले भने, ‘होलीको रंग जस्तै हाम्रो जीवन रंगीन होस् ।’

    मदिरा व्यवसायी संघ भैरहवाका संस्थापक अध्यक्ष केशवराज ज्ञवालीले संघले व्यवसायीको हकहितसँगै सामाजिक क्षेत्रमा काम गर्दै आएको बताए ।

    संघका अध्यक्ष बाबुराम पाण्डेले होली पर्वपछि व्यवसायमा सुधार हुने कामना गरे ।

    संघका महासचिव यादव पोखरेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा व्यवसायीहरुले एकआपसमा अबिर लगाएर होलीको शुभकामना आदानप्रदान गरेको संघका वरिष्ठ उपाध्यक्ष भागिरथ पाण्डेले बताए ।

    Holi.JPG