२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

राष्ट्रिय बीमा कम्पनी र लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थानबीच सम्झौता

मंगलवार , चैत्र १३, २०८०

भैरहवा, १३ चैत ।
राष्ट्रिय बीमा कम्पनी लिमिटेड र लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टरबीच सम्झौता भएको छ । श्री रण अम्बिका शाह आँखा अस्पताल भैरहवामा उपचारका लागि आउने मोतीयाबिन्दुका बिरामीमध्ये असहाय, विपन्न बिरामीको आँखाको शल्यक्रिया (अपरेशन) का लागि उक्त सम्झौता भएको हो ।

अस्पतालका सूचना अधिकारी प्रतीक पाण्डेयका अनुसार सम्झौतामा राष्ट्रिय बीमा कम्पनी लिमिटेडले एकलाख रुपैयाँ असहाय तथा विपन्न बिरामीको मोतीबिन्दुको शल्यक्रियाका लागि कम्पनीले उपलब्ध गराउने उल्लेख छ ।

अस्पतालकोतर्फबाट निमित्त चिफ मेडिकल डाइरेक्टर कविन्द्र बज्राचार्यले र राष्ट्रिय बीमा कम्पनी लिमिटेडकोतर्फबाट बजार व्यवस्थापन विभाग प्रमुख देवराज घिमिरेले मंगलबार उक्त सम्झौतापत्रमा हस्तान्तरण गरेका हुन् ।

‘विगत लामो समयदेखि सेवामा समर्पित लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टरले नेपाल र भारतका सेवाग्राहीहरुलाई उपचार सेवा प्रदान गर्दै आएको छ । यसलाई मध्यनजर गर्दै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत १ लाख रुपैयाँ मूल्य कम्पनीले व्यहोर्नेछ, ’घिमिरेले भने ।’उनले आँखाको उपचार जस्तो पवित्र कार्यमा आफू जोडिन पाउँदा खुसी भएको र भविष्यमा अझै सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । 

त्यस्तै अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सागर प्रताप राणाले यो र यस्तै खालका विभिन्न संस्थाहरुबाट पाएको सहयोगले विपन्न तथा निमुखा बिरामीहरुलाई उपचार गरिएको बताए ।

कार्यक्रममा अस्पतालका निमित्त चिफ मेडिकल डाइरेक्टर डा. कविन्द्र बज्राचार्य, नेपाल नेत्र ज्योति संघ रुपन्देही शाखा अध्यक्ष कमलराज जोशी, संघका उपाध्यक्ष नारायण प्रसाद अग्रवाल, नेपाल नेत्रज्योति संघ लुम्बिनी प्रदेशका सचिव राजेन्द्र प्रसाद पन्थी, नेत्रज्योति संघ रुपन्देही शाखाका सचिव गणेश बहादुर क्षेत्री लगायतको उपस्थिति रहेको थियो ।

अस्पतालका निमित्त चिफ मेडिकल डाइरेक्टर डा. कबिन्द्र बज्राचार्यको स्वागत तथा अस्पताल सूचना अधिकारी प्रतिक पाण्डेयको सञ्चालनमा कार्यक्रम सम्पन्न भयो ।