भैरहवा, १७ चैत ।
रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरले एकदिने निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम गरेको छ । क्लबले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ११ भुजौलीस्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा शिविर गरेको हो ।
भीम अस्पताल, एसियन फार्मास्युटीकल्स र सिद्धार्थ फार्मास्युटीकल्सको सहयोग तथा सिद्धार्थनगर सिटी हस्पिटल प्रा.लि.को प्राविधिक सहयोगमा शुक्रबार शिविर भएको कार्यक्रम संयोजक करुणा सिंहले बताइन् ।
शिविरमा ३२५ जनाले स्वास्थ्य परीक्षण गराएको रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगर वर्ष २०२३/०२४ का अध्यक्ष नारायण प्रसाद भण्डारीले बताए । शिविरमा जनरल फिजिसियन, बालरोगसम्बन्धी सेवा, क्यान्सर परीक्षणका साथै ल्याब परीक्षण र औषधी वितरण गरिएको भण्डारीले जानकारी दिए ।
कार्यक्रमको उद्घाटन गर्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले यस्ता शिविरले मानिसको शरीरमा भएका स्वास्थ्यसम्बन्धी समस्या पहिचान गर्न सहज बनाउने बताए । उनले व्यक्ति आफै पनि स्वास्थ्यप्रति जागरुक र सचेत हुनुपर्नेमा जोड दिए । संविधान सभा सदस्य समेत रहेका नगरप्रमुख खानले शिविरको लाभ लिनुपर्ने र सबैलाई शिविरमा स्वास्थ्य परीक्षण गराउन पठाउनुपर्ने बताए । उनले रोग लुकाएर नबस्न आग्रह गरे ।
क्लबका अध्यक्ष भण्डारीले यस क्षेत्रमा विभिन्न अस्पताल र स्वास्थ्य केन्द्रहरु रहदारहदै स्वस्थ रहौं भन्ने अभियान सञ्चालन गर्न शिविर आयोजना गर्न गरिएको बताए । उनले शिविरका लागि व्यवस्थापनमा सहयोग गर्ने वडा नम्बर १०, ११ का वडाअध्यक्षहरु, औषधी उपलब्ध गराउने भीम अस्पताल, एसियन फार्मास्युटीकल्स र सिद्धार्थ फार्मास्युटीकल्स तथा प्राविधिक सहयोग गर्ने सिद्धार्थनगर सिटी हस्पिटललाई धन्यवाद दिए ।
भीम अस्पताल विकास समितिका पूर्वअध्यक्ष समेत रहेका अध्यक्ष भण्डारीले आफू अस्पतालको अध्यक्ष रहदा पनि सिद्धार्थनगर–१० र ११ र विपन्न बिरामीको उपचारमा सक्दो सहयोग गरेको स्मरण गरे । उनले भने, ‘वडा नम्बर १० र ११ लाई ७ र ८ जस्तै विकसित बनाउनुपर्छ भन्ने हाम्रो मान्यता छ ।’
रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ का असिस्टेन्ट गभर्नर रविलाल पोखरेलले रोटरी इन्टरनेशनलले शिक्षा, स्वास्थ्यसहित विभिन्न क्षेत्रमा काम गर्दै आएको बताए । उनले पोलियो थोपा किन्न रोटरीले ठूलो धनराशी खर्च गरेको बताए । उनले भने, ‘मुटु अस्पताललगायत ठूला प्रोजेक्टमा रोटरीले लगानी गरेको छ ।’
सिद्धार्थनगर नगरपालिका–११ का वडाअध्यक्ष दिलिप कुमार यादवले रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरले राम्रो काम ल्याएको र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने अपेक्षा गरे ।
सिद्धार्थनगर सिटी हस्पिटल प्रा.लि.का प्रबन्ध निर्देशक अर्जुन पौडेलले लक्षण नदेखाइकन पनि विभिन्न रोग लाग्न सक्ने भएकाले आफै सचेत भएर स्वास्थ्य परीक्षण गराउनुपर्ने बताए । उनले समयमै रोगको पहिचान हुन सके ठीक उपचार गरेर निको हुन सकिने बताए ।
रोटरी क्लब अफ सिद्धार्थनगर वर्ष २०२३/०२४ की सचिव सरिता रानाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।