
आइतवार , चैत्र १८, २०८०
परासी, १८ चैत ।
पश्चिम नवलपरासीको परासीमा रामग्राम जेसीजको आयोजनामा उद्घोषण तालिम सम्पन्न भएको छ । जेसीजमा आबद्ध युवाहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले उक्त तालिम आयोजना गरिएको थियो ।
शनिबार सम्पन्न भएको उक्त तालिममा नेपाल जेसीजकी पूर्व राष्ट्रिय उपाध्यक्ष एवं रामग्राम जेसीजकी पूर्व अध्यक्ष यमकुमारी सुवेदीले प्रशिक्षण दिएका थिए ।
तालिमको उद्घाटन गर्दै रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवले तालिमको माध्यमबाट युवाहरुको नेतृत्व क्षमता र बोल्ने शैलीको विकास हुने बताए । कुनै पनि कार्यक्रमलाई सफल बनाउन उद्घोषकको महत्वपूर्ण भूमिका हुने भएकोले तालिमबाट सिकेका कुरालाई अभ्यास गर्दै सफल उद्घोषकको रुपमा स्थापित हुन समेत उनले आग्रह गरे । रामग्राम जेसीजका पूर्वअध्यक्ष समेत रहेका नगरप्रमुख यादवले आफू जेसीजकै कारण अघि बढ्न सफल भएको बताए ।
युवाहरुको नेतृत्व र व्यक्तित्व विकास एवं सफल उद्घोषक बनाउने उद्देश्यले उक्त तालिम सञ्चालन गरिएको रामग्राम जेसीज वर्ष २०२४ का अध्यक्ष मोहन पौडेलले जानकारी दिए ।
तालिममा उद्घोषकमा हुनुपर्ने गुण, उद्घोषकले ध्यान दिनुपर्ने कुरा, कार्यक्रम तालिका निर्माण लगायतका विषयमा युवाहरुलाई प्रशिक्षण प्रदान गरिएको अध्यक्ष पौडेलले बताए ।
रामग्राम जेसीजका अध्यक्ष मोहन पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा रामग्राम जेसीजका पूर्वअध्यक्ष सुमन गोपाल आचार्य, प्रशिक्षक एवं पूर्व अध्यक्ष यमकुमारी सुवेदी, ज्योति विकास बैंक परासी शाखाका प्रबन्धक दीपक अधिकारी, पत्रकार गौरीशंकर जयसवाल, प्रशिक्षार्थीहरु डा.किरण गुुप्ता, हिमाल चन्द्र अर्याल, दुर्गावती केवट, बृजनन्दन कुर्मी लगायतले तालिमको महत्वको विषयमा प्रकाश पारेका थिए ।
रामग्राम जेसीजका महासचिव मुकेश नारायण लोनियाको सञ्चालन, कार्यक्रम संयोजक एवं रामग्राम जेसीजका उपाध्यक्ष उमेश कोहारको स्वागत, जनसम्पर्क अधिकारी रामप्रसाद पौडेलको आस्था पाठ तथा सह–कोषाध्यक्ष हिमाल चन्द्र अर्यालको मिसन भिजन वाचनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij