
आइतवार , चैत्र १८, २०८०
भैरहवा, १८ चैत ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिद्धार्थनगर नगर कमिटी, रुपन्देहीको आयोजनामा शनिबार भैरहवामा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ ।
पार्टीका नेता तथा कार्यकर्ताहरुलाई कार्यक्रममा प्रशिक्षण प्रदान गरिएको एमाले सिद्धार्थनगरका अध्यक्ष चक्र बहादुर थापाले बताए ।
कार्यक्रममा एमाले रुपन्देही जिल्ला सचिव यज्ञ गैरेले विधान, कार्यक्रम सञ्चालन र संगठनात्मक सिद्वान्त, उपसचिव चित्र बहादुर कार्कीले पार्टी, संघसंस्था र जनप्रतिनिधिबीचको अन्तरसम्बन्ध, उपसचिव एवं प्रचार विभाग प्रमुख हितराज पन्थीले नेपालका मूल पार्टीहरुको एक तुलनात्मक अध्ययन र सचिवालय सदस्य एवं पार्टी जिल्ला स्कूल विभाग प्रमुख युवराज घिमिरेले मार्क्सवाद र जनताको बहुदलीय जनवाद (जबज) को बारेमा प्रशिक्षण दिएका थिए ।
एमाले रुपन्देही सचिव यज्ञ गैरेले जिल्लाका १६ वटै पालिकामा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने जिल्ला कमिटीले निर्णय गरेको बताए ।
त्यस्तै शनिबार सम्पन्न एमाले सिद्धार्थनगरको बैठकले नगरका १३ वटै वडामा सदस्यता नविकरण गरी चैत २८ गतेसम्म सिद्धार्थनगर पार्टी कार्यालयमा बुझाउने निर्णय गरेको नगरअध्यक्ष चक्र बहादुर थापाले बताए । त्यस्तै बैठकले नयाँ सदस्यता प्रदान गर्न सदस्यता आवेदन फारम भराउने निर्णय गरेको अध्यक्ष थापाले जानकारी दिए ।
एमाले सिद्धार्थनगरका उपाध्यक्ष अर्जुन कुमार गिरीको स्वागत तथा उपसचिव माया कंडेलको सञ्चालनमा बैठक सम्पन्न भएको थियो ।
बैठकमा बोल्दै प्रमुख अतिथि पार्टीका केन्द्रीय सदस्य तथा सिद्धार्थनगर इञ्चार्ज भुमिश्वर ढकालले जनप्रतिनिधि र पार्टीबीचको सम्बन्ध सुमधुर बनाउनुपर्नेमा जोड दिए । लुम्बिनी प्रदेश सभा सदस्यसमेत रहेका नेता ढकालले वर्तमान सरकारले देश र जनताको पक्षमा काम गर्ने बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij