२०८२, फाल्गुण ३ गते

Feb 15 2026 | २०८२, फाल्गुण ३ गते

भैरहवामा कमल थापाले भने–नेपालमा अहिले धर्म परिवर्तनको डढेलो लागेको छ

आइतवार , चैत्र १८, २०८०

  • 1.8K
    Shares
  • 1.8K
    Shares
  • भैरहवा, १८ चैत ।
    राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालमा अहिले धर्म परिवर्तनको डढेलो लागेको बताएका छन् । उनले पहाडका सिंगो गाउँगाउँमा धर्म परिवर्तन भएको बताए ।

    राप्रपा नेपाल, रुपन्देहीले आइतबार भैरहवामा आयोजना गरेको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले यस्तो बताएका हुन् । उनले भने, ‘तराईमा पनि म सुन्दैछु, विस्तारै यो धर्म परिवर्तनको महारोग सल्किएर गएको छ । हामीलाई कुनै पनि धर्मको विरोध गर्नुछैन । इसाईहरु आजभन्दा ७० वर्ष अगाडि औलामा गन्न सक्ने संख्यामा थिए । १०–१२ जना मात्र थिए याद राख्नुस् । अहिले लाखौंको संख्यामा भएका छन् ।’

    उनले पश्चिमा मुलुकहरुले भारत र चीनलाई नियन्त्रण गर्नको निमित्त धर्म परिवर्तन गराएर नेपाललाई साँस्कृतिक उपनिवेश बनाउन खोजीरहेको र त्यसमा प्रमुख राजनीतिक दलहरु हतियारको रुपमा प्रयोग भएको आरोप लगाए।

    पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका थापाले यो धर्म परिवर्तनको लहरले सनातन धर्म कमजोर मात्र हुने नभइ नेपालमा कहिले नभएको धार्मिक, साँस्कृतिक द्वन्द्व, विवाद, झगडा, युद्ध हुन सक्ने खतरा देखिएको बताए । उनले भने, यो सबै यही भ्रष्ट व्यवस्था र भ्रष्ट शासकले गर्दा भएको हो ।

    अध्यक्ष थापाले नेपालमा संघीय धर्म निरपेक्ष गणतन्त्र असफल भएको दावी गरे । यसको प्रमाण भनेको अहिले देश भ्रष्टाचारको दलदलमा भासिएको बताए । केही सीमित दलका सीमित नेताहरुले सिण्डिकेट खडा गरेर देशमा ब्रम्हलुट गरिरहेको उनले आरोप लगाए ।

    मुलुकमा राजासहितको प्रजातन्त्र तथा हिन्दूराष्ट्र पुर्नस्थापना र निर्वाचन प्रणालीमा सुधार अपरिहार्य रहेको उनले दावी गरे । उनले भने, ‘राप्रपा नेपाल अलग पहिचान र फरक विचार बोकेको पार्टी हो । २०८४ सालमा राप्रपा नेपाललाई अग्रणी शक्तिको रुपमा स्थापित गर्न सक्छौं भन्नेमा विश्वस्त छौं । ’

    राप्रपा नेपाल रुपन्देहीका अध्यक्ष अर्जुन थापा (कालु) को अध्यक्षता, केन्द्रीय सहायक प्रवक्ता प्रदीप शेरचनको स्वागत तथा रुपन्देही क्षेत्र नम्बर ३ का क्षेत्रीय अध्यक्ष सुनिल पन्थीको सञ्चालनमा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सहायक महामन्त्री दिनेशचन्द्र गुप्ता, लुम्बिनी विकास क्षेत्र समन्वय समितिका अध्यक्ष उत्तम तिमिसिनालगायतले भनाइ राखेका थिए ।