भैरहवा, २० चैत ।
लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेयले लागूऔषध लागूऔषध दुर्व्यसन न्यूनीकरणका लागि सामूहिक प्रयास आवश्यक रहेको बताएका छन् । उनले लागूऔषध लागूऔषध दुर्व्यसनको न्यूनीकरणका लागि सबैको भूमिका र सहयोग महत्वपूर्ण रहेको बताए ।
गृह मन्त्रालय लुम्बिनी प्रदेशले मंगलबार रुपन्देहीको भैरहवामा आयोजना गरेको लागूऔषध दुर्व्यसन न्यूनीकरणसम्बन्धी सचेतनामूलक कार्यक्रममा बोल्दै मन्त्री पाण्डेयले यस्तो बताएका हुन् । उनले लागूऔषध दुर्व्यसन न्यूनीकरणका लागि सरकारले आयोजना गर्ने यस्ता सचेतनामूलक कार्यक्रम मात्र पर्याप्त नरहेकोले सबैले आ–आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । अब यस्ता सचेतनामूलक कार्यक्रम ग्रामीण क्षेत्रमा आयोजना गर्ने उनको भनाइ थियो । यस्ता कार्यक्रमको माध्यमबाट समाज सुधार र गलत बाटोमा लागेका व्यक्तिहरुलाई सही बाटोमा ल्याउन सकिने सकिने मन्त्री पाण्डेयले बताए ।
उनले भने, ‘देशमा परिवर्तन ल्याउन युवाहरुको भूमिका महत्वपूर्ण हुन्छ । लागूऔषध दुर्व्यसनमा फसेका युवाहरुलाई समाजमा पुर्नस्थापित गरेर सही बाटोमा ल्याउन सकिए विकास निर्माणमा लगाउन सकिन्छ । नेपालमा बसेर विभिन्न पदमा रहेर सेवा गर्ने व्यक्तिलाई भन्दा पनि विदेशमा रहेका व्यक्तिहरुलाई अझ राम्रो र सकारात्मक दृष्टिकोणले हेर्ने प्रवृत्ति छ । यो प्रवृत्ति हटाउन जरुरी छ ।’
लुम्बिनी प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री पाण्डेयले लागूऔषध दुर्व्यसनको समस्या तथा चुनौतीको सामना गर्ने पहिलो र यो समस्या समाधान गर्ने पनि यही पिढी भएको बुझ्न आग्रह गरे ।
लुम्बिनीमा जन्मेका गौतमबुद्धले शान्तिको सन्देश फैलाएर नेपाललाई विश्वमै चिनाउन सफल भएको र गौतमबुद्ध व्यक्ति मात्र नभइ विचार बन्न सफल भएको उनले बताए । मन्त्री पाण्डेयले पवित्रभूमि लुम्बिनीमा जन्मेका व्यक्तिहरुले फरक काम गरेर आफूलाई स्थापित गर्न सक्ने बताए । आफू पनि यही समाजमा सानोसानो काम गरेर नै यहाँसम्म आइपुगेको बताए । विश्व नै आर्थिक संकटमा रहेको र नेपाल पनि त्यसबाट अछुतो नरहेकोले नकारात्मक सोच हटाउनुपर्ने उनले बताए । सकारात्मक सोच नै विश्वका लागि चुनौति बनेको उनले बताए ।
त्यस्तै संविधानसभा सदस्य तथा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले विशेष गरी युवा वर्ग लागूऔषध दुर्व्यसनमा फसेको बताए । उनले लागूऔषध न्यूनीकरणका लागि स्थानीय सरकार, सुरक्षा निकाय, विभिन्न संघ–संस्था तथा नागरिक समाज लागिपरेको बताए । उनले आजका युवा भोलिका कर्णधार भएकाले राम्रो व्यक्तिको संगत गर्न आग्रह गरे ।
गृहमन्त्री सन्तोष कुमार पाण्डेयको सचिवालयका स्वकीय सचिव जैनुद्दीन देवानको स्वागत तथा गृह मन्त्रालयका शाखा अधिकृत मेघराज सोनीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रमको सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले उद्घाटन गरेका थिए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक कौशल न्यौपाने, जीवनदृष्टि पुर्नस्थापना केन्द्र राप्ती गाउँपालिका–५ दाङका भुमिराज नेपाल र मोटिभेसनल स्पीकर (प्रेरक वक्ता) कृष्ण साह कानुले सहजीकरण गरेका थिए ।
कार्यक्रममा विद्यार्थी, अभिभावक, जनप्रतिनिधिलगायतको सहभागीता गृह मन्त्रालय लुम्बिनी प्रदेशका सहायक चौथो शैलेश शर्माले बताए ।