२०८२, आषाढ २७ गते

Jul 11 2025 | २०८२, आषाढ २७ गते

लुम्बिनी प्रदेश सरकार गठनका लागि महराको दावी पेस

शुक्रवार , चैत्र २३, २०८०

रुपन्देही, २३ चैत । 
लुम्बिनी प्रदेशमा सत्तारूढ दलको तर्फबाट नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता जोखबहादुर महरालाई मुख्यमन्त्री बनाउन बहुमत सांसदहरूले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दावी पेश गरेका छन् ।

बिहीबार प्रदेश सभा बैठकमा मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले राजीनामा दिएर इमेलमार्फत प्रदेश प्रमुखसमक्ष राजीनामा पठाएपछि नयाँ मुख्यमन्त्री नियुक्ति प्रक्रिया अघि बढेको हो ।

सत्तारुढ दलहरूले माओवादी केन्द्र संसदीय दलका नेता महराको नेतृत्वमा नयाँ सरकार गठनका लागि ४४ जना सांसदको हस्ताक्षरसहित दावी प्रस्तुत गरेका हुन् । 

नेकपा (एमाले) का २९, माओवादी केन्द्रका १०, जनता समाजवादी पार्टी, नेपाल (जसपा) का ३, नेकपा (एकीकृत समाजवादी) का १ र एक जना स्वतन्त्र प्रदेशसभा सदस्यसहित ४४ जनाको हस्ताक्षर बुझाइएको हो ।

शुक्रबार एमाले संसदीय दलका नेता लिला गिरी, प्रमुख सचेतक तुल्सी प्रसाद चौधरी, एकीकृत समाजवादीकी भगवती घिमिरेसहित पुगेका महराले प्रदेश प्रमुख शेरचन समक्ष दावी पेश गरेका हुन् ।

माओवादीका महरा, एमाले संसदीय दलका नेता लीला गिरी, जसपाका भण्डारीलाल अहिर, एकीकृत समाजवादीकी दल नेता भगवती अधिकारी र नवलपरासी पश्चिम निर्वाचन क्षेत्र २ (१) बाट निर्वाचित स्वतन्त्र प्रदेशसभा सदस्य खड्ग बस्नेतले ७ बुँदे सहमति गरेका थिए ।

प्रदेश प्रमुख शेरचनसमक्ष दाबी पेश गर्न महरा, गिरीसहितका नेताहरू पुगेका थिए । महरा रोल्पाबाट निर्वाचित सांसद हुन् । यसअघि लिला गिरी लुम्बिनीको मुख्यमन्त्री हुँदा महरा तीन महिना अर्थमन्त्री भएर जिम्मेवारी निर्वाह गरेका थिए ।

9b404786-50c9-4d6f-9587-92891244661a.jpeg