२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

‘मुलुकको विकासमा यातायात व्यवसायी तथा मजदूरको भूमिका महत्वपूर्ण’

शनिवार , चैत्र २४, २०८०

भैरहवा, २४ चैत ।
पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.को दोस्रो अधिवेशनबाट निर्वाचित सञ्चालक समितिको सपथग्रहण तथा पदस्थापन कार्यक्रममा सहभागीहरुले मुलुकको समग्र विकासमा यातायात व्यवसायी तथा मजदूरहरुको भूमिका महत्वपुर्ण हुने बताएका छन् ।

पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.को दोस्रो अधिवेशनबाट निर्वाचित ११ सदस्यीय सञ्चालक समितिको सपथग्रहण तथा पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । अधिवेशनबाट तत्कालिन अध्यक्ष दधिराम खरेल नेतृत्वको प्यानल विजयी भएको थियो । प्रा.लि.को विधान अनुसार कुल १३ सदस्यीय सञ्चालक समितिमा २ जना सदस्य मनोनित गर्ने प्रावधान रहेको छ ।

प्रा.लि.का नवनिर्वाचित सञ्चालकहरुको सपथग्रहण र पदस्थापन कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले समृद्ध शहर निर्माणमा यातायात व्यवसायीहरुको भूमिका महत्वपूर्ण रहेको बताए । यातायात क्षेत्रका समस्या समाधान गर्न आफू सदैव तत्पर रहेको उल्लेख गर्दै नगरप्रमुख पाण्डेयले समस्या समाधानका लागि स्थानीय सरकार यातायात व्यवसायीहरुसँग सहकार्य गर्न तयार रहेको बताए ।

कार्यक्रममा प्रा.लि.का अध्यक्ष दधिराम खरेलले यातायात व्यवसायीहरुले आफ्नो हकहित संरक्षणका साथै सामाजिक विकासमा पुर्याएको योगदानको चर्चा गर्दै सामाजिक उत्तरदायित्व बहन गर्ने कार्यमा तीनै तहका सरकारसँग सहकार्य गरेर अघि बढ्न सकिने धारणा राखे । मुलुकको समग्र विकासमा यातायात व्यवसायी र मजदूरहरुको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै यातायात क्षेत्रको पूर्वाधार विकासमा समन्वय र सहकार्य आवश्यक रहेकोमा उनको जोड थियो ।

बुटवल उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष तथा प्रा.लि.का सल्लाहकार नरिश्वर शर्मा पौडेल, रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटा, बुटवल यातायात प्रा.लि.का प्रबन्ध सञ्चालक दिपक श्रेष्ठ, निर्वाचन समितिका संयोजक रामराज पोख्रेल, सदस्य दिनेश पाण्डे, अर्का सदस्य तुलसीराम बन्जाडे, बुटवल अटो एसोसिएसनका अध्यक्ष तुल्सीराम न्यौपाने लगायतले यातायात व्यवसाय क्षेत्रका समस्या र समाधानका उपायहरुबारे चर्चा गरेका थिए ।

यसैबिच नवनिर्वाचित समितिको बैठक बसी बिभिन्न निर्णयहरु गरेको छ । बैठकले समितिको अध्यक्षमा दधिराम खरेललाई सर्वसम्मत चयन गरेको छ । त्यसै गरी बैठकले प्रा.लि.को प्रबन्ध सञ्चालकमा रामचन्द्र भुसाल र कोषाध्यक्षमा मोहन पि.एस.लाई सर्वसम्मत चयन गरिएको अध्यक्ष दधिराम खरेलले बताए ।

साथै समितिको दुर्घटना न्यूनीकरण तथा सवारी व्यवस्थापन प्रमुखमा नारायण प्रसाद घिमिरे, व्यवसायी संरक्षण कोष प्रमुखमा गोपाल बहादुर पौडेल, कल्याणकारी विभाग प्रमुखमा जिवनकुमार बन्जाडे, क्यु विभाग प्रमुखमा चेतनारायण बेलबासेलाई चयन गरिएको अध्यक्ष खरेलले बताए ।