
आइतवार , चैत्र २५, २०८०
भैरहवा, २५ चैत ।
होटल पौवाले आइतबार आफ्नो आठौं स्थापना दिवस विविध रचनात्मक कार्यक्रमसहित मनाएको छ । ‘नेपालका लागि नेपाली आतिथ्यता’ भन्ने मूल नारासहित स्थापना भएको होटल पौवाको सबै शाखाहरुमा विविध रचनात्मक कार्यक्रम गरी स्थापना दिवस मनाएको हो ।
पौवाका १२ वटै शाखामा रचनात्मक कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाइएको होटल पौवा प्रा.लि.का अध्यक्ष दुर्गा भण्डारीले जानकारी दिए ।
स्थापना दिवसको अवसरमा होटल पौवाको भैरहवा शाखाले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ५५ जनाले रक्तदान गर्नुभएको शाखा प्रबन्धक गिरीराज पाण्डेले बताए ।
कार्यक्रमको उद्घाटन गर्दै नेपाल क्यान्सर सहयोग समूहका केन्द्रीय अध्यक्ष दिलिप भट्टराईले रक्तदान भन्दा ठूलो पुण्यको काम अरु हुन नसक्ने बताए । उनले रगतले मानिसको ज्यान बचाउने भएकोले रक्तदान कार्यक्रमको ठूलो महत्व रहेको बताए । उनले होटल पौवाले गुणस्तरीय खाजा, खाना तथा राम्रो आतिथ्यता प्रदान गर्दै आएको बताए । उनले भने, ‘आफ्नो कामप्रति अभिरुची, निष्ठा भए सफल भइन्छ भन्ने उदाहरण होटल पौवाले प्रस्तुत गरेको छ । होटलले कसरी पाहुनाको मन जित्छ भन्ने कुरा महत्वपूर्ण हो ।’
त्यस्तै रुपन्देहीको तिलोत्तमा नगरपालिका योगीकुटीमा अवस्थित होटल पौवाको शाखामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा होटलमा कार्यरत कर्मचारी तथा अन्य सदस्यहरुको सहभागीतामा ५५ युनिट रक्त संकलन गरिएको बुटवल शाखाका म्यानेजर निशान्त खरेलले जानकारी दिए । रक्त सञ्चार सेवा केन्द बुटवलको प्राविधिक सहयोग तथा नियमित रक्तदाता समाज रुपन्देहीसँगको सहकार्यमा कार्यक्रम सम्पन्न गरिएको खरेलले बताए ।
रचनात्मक क्रियाकलाप अन्तरगत पाल्पा शाखाले स्थानीय सिर्जनशिल अपांग स्वावलम्बन केन्द्र तानसेनमा, घोराही दाङ शाखाले जेष्ठ नागरिक सरोकार केन्द्र तेरौटेमा, पोखरा शाखाले सहारा एकेडेमी बाल अनाथ आश्रममा, काठमाडौ शाखाले गुरुकुल आश्रम शंखमुलमा खाना खुवाउने तथा फलफूल वितरण गरी स्थापना दिवस मनाएको पौवा होटल प्रालिका ब्राण्डिङ विभाग प्रमुख तथा मार्केटिङ हेड विष्णु भण्डारीले जानकारी दिए । जुम्लामा पनि पौवाले चन्दननाथ नगरपालिकामा रहेका वृद्ध/वृद्धाहरुसँग स्थापना दिवस मनाएको छ ।
दाङको भालुवाङ शाखाले मधुमेह, उक्त रक्तचाप र मृगौला सम्बन्धि रक्त परीक्षण तथा परामर्श शिविर सञ्चालन गरेको छ भने लमही शाखाले नगर सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । गुल्मीको रेसुङ्गा, धनगढी शाखा, गोरुसिङ्गे शाखाले सरसफाई कार्यक्रम सम्पन्न गरेको भण्डारीले जानकारी दिए ।
पौवाको रुपन्देहीमा बुटवल र भैरहवा गरी २, कपिलवस्तुमा १, दाङमा ३, पाल्पामा १, गुल्मीमा १, सुदुरपश्चिमको धनगढीमा १, कर्णाली प्रदेशको जुम्लामा १ र गण्डकी प्रदेशको पोखरामा १ र बाग्मती प्रदेशको काठमाडौंमा १ शाखा सञ्चालनमा रहेको प्रमुख कार्यकारी अधिकृत कृष्ण गौतमले जानकारी दिए । शाखा विस्तारको लागि, चितवन र जनकपुरमा सम्भाव्यता अध्ययन भइरहेको गौतमले जानकारी दिए । साथै केही दिन अगाडि बाँकेको नेपालगंजमा पाँचतारे होटल सञ्चालनको लागि शिलान्यास समेत गरिसकेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij