२०८३, बैशाख ९ गते

Apr 22 2026 | २०८३, बैशाख ९ गते

आर्थिक मन्दी र बढ्दो भ्रष्टाचारले मुलुक संकटमा : सांसद् शुक्ल

आइतवार , चैत्र २५, २०८०

  • 892
    Shares
  • 892
    Shares
  • भैरहवा, २५ चैत ।
    प्रतिनिधि सभा सदस्य सर्वेन्द्रनाथ शुक्लले आर्थिक मन्दी र बढ्दो भ्रष्टाचारले देश संकटबाट गुज्रिरहेको बताएका छन् । शनिबार रुपन्देहीको सम्मरीमाई गाउँपालिका–३ मा आयोजित बृहत निःशुल्क स्वास्थ्य शिविरलाई सम्बोधन गर्दै सांसद् शुक्लले सो कुरा बताएका हुन् । 

    हाल सञ्चालनमा रहेको अधिकांश योजना पुरा गर्न सरकारसँग पैसा नरहेकोले आगामी दिनमा पनि नयाँ योजना बन्ने सम्भावना नदेखिएको उनले बताए । सम्मरीमाई–५ चक्कीयामा ४० करोडको लागतमा निर्माण हुने पुल स्वीकृत भइसकेको तर पैसाकै अभावले त्यसको टेण्डर हुन नसकेको उनले बताए । 

    पूर्व शिक्षामन्त्री समेत रहेका शुक्लले मुलुकलाई ठुलो आर्थिक लाभ दिने योजनाहरु पनि पैसाकै अभावले ठप्प रहेको उनले बताए । देशमा बढ्दो भ्रष्टाचारन्यूनीकरण गर्न तीन ठूला दलका शीर्ष नेता भ्रष्टाचारविरुद्ध प्रतिबद्धता नगरुञ्जेलसम्म सम्भव नरहेको बताए । उनले भने, ‘भ्रष्टाचारविरुद्ध बोलीमा धेरैपटक लागेको देखियो तर, सबै एकबद्ध भई निष्पक्ष भएर काम नगरुञ्जेल भ्रष्टाचार रोकिदैन । जबसम्म भ्रष्टाचार कम हुँदैन, तबसम्म न देशको आर्थिक रुपमा समृद्ध हुन्छ न त बेरोजगारीको समस्या समाधान हुन्छ ।’ प्रत्येक वर्ष करिब ७ लाख युवा विदेशिनु देशको लागि संकटकै संकेत रहेको उनले बताए । 

    लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) का वरिष्ठ सह-अध्यक्ष समेत रहेका शुक्लले हरेक वर्ष २ लाख जनतालाई रोजगारी ग्यारेण्टी भए देश विकासतर्फ आफै लम्किने बताए । 

    मर्चवारमा तत्कालिन राहतको लागि स्वास्थ्य शिविर बरदान स्वरुप हुने गरेको तर, दीर्घकालीन राहतको लागि गुणस्तरीय अस्पताल हुनु अति जरुरी रहेको बताए । आफ्नो पहलमा शिविरको आयोजना गरेको लायन्स क्लबलाई धन्यवाद दिदै उनले लायन्स क्लबको सहकार्यमा मर्चवार क्षेत्रमा आँखा अस्पताल शिघ्र सञ्चालन गराउने बताए ।

    कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य कन्हैया बनियाले स्वास्थ्य अवस्था राम्रो राख्न धुलोमुक्त मर्चवार हुन अति जरुरी रहेको बताए । ग्रामीण क्षेत्रमा बढ्दो रोगलाई नियन्त्रणका लागि शिविर आयोजना गरिएको भन्दै उनले शिविर आयोजक संस्थालाई धन्याद दिए । 

    मर्चवारमा मुख्य सडक धुलोमुक्त बनाउन बेथरी खैरा चारलेनको सडक छिट्टै निर्माण कार्यसम्पन्न हुने बनियाले बताए । त्यसै गरी मर्चवारको रिंगरोड पनि आफ्नै कार्यकालमा निर्माण गराउने भन्दै डीपीआर कार्य शुभारम्भ हुन लागेको बताए ।

    लायन्स क्लब आफ बुटवलका अध्यक्ष लायन शरणमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त शिविर औपचारिक कार्यक्रममा प्रदेश सभा सदस्य हेमा बेलबासे (के.सी.), सम्मरीमाई गाउँपालिका अध्यक्ष बिनोद कुमार श्रीवास्तव, लायन रोशन कुमार श्रेष्ठ लगायतले बोलेका थिए ।