सोमवार , चैत्र २६, २०८०
भैरहवा, २६ चैत ।
रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा नम्बर २ स्थित पडरहवा चोकमा २५ लाखको लागतमा ‘शिवमन्दिर धर्मशाला’ निर्माण हुने भएको छ ।
प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री सर्वेन्द्रनाथ शुक्लको पहलमा लुम्बिनी प्रदेश सभा सदस्य हेमा बेल्बासे (के.सी.)को क्षेत्र विकास कोषबाट उक्त धर्मशाला बन्न लागेको लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) का केन्द्रीय सदस्य सन्दिप त्रिपाठीले बताए ।
लुम्बिनी प्रदेश सभा सदस्य हेमा बेल्बासे (के.सी.)ले कोटहीमाई गाउँपालिका–२ स्थित शिव मन्दिरमा आउने साधुसन्त तथा भक्तजनलाई बस्न सहज होस् भन्ने उद्देश्यले धर्मशाला निर्माण गर्न लागिएको बताइन् । उनले भनिन्,‘यो मन्दिरमा टाढाटाढाबाट साधुसन्त तथा भक्तजनहरु आउनुहुन्छ । धर्मशाला निर्माण भइसकेपछि उहाँहरुलाई बस्न सहज हुने विश्वास लिएका छौं ।’

त्यस्तै धर्मशालामा विवाह, ब्रतबन्ध, पूजालगायत विभिन्न धार्मिक साँस्कृतिक कार्यक्रमहरु गर्न सहज हुने सांसद् के.सी.को भनाइ छ । सोमबार उक्त धर्मशालाको शिलान्यास गरिएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij