२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

नेपाललाई हिन्दु राष्ट्र बनाउन अभियान संचालन गर्ने विश्व हिन्दु महासंघको घोषणा

शुक्रवार , फाल्गुण ७, २०७७

बुटवल, ७ फागुन । 
रुपन्देहीको बुृटवलमा सम्पन्न विश्व हिन्दु महासंघ, नेपाल राष्ट्रिय समिति तथा जिल्ला अध्यक्षहरुको संयुक्त बैठकले नेपाललाई हिन्दु राष्ट्र बनाउने निर्णय गरेको छ । नेपालमा हिन्दु राष्ट्र कायम गर्न सबै सनातन हिन्दुहरु एकजुट भएर उठ्नुपर्ने बेला आएको भन्दै ८० प्रतिशत भन्दा बढी जनसंख्या हिन्दु धर्म मान्नेहरुको रहेकोले जुनसुकै हालतमा हिन्दु राष्ट्र बनाउनुपर्ने कुरामा बैठकले जोड दिएको छ । 

बैठकका निर्णयहरु सार्वजनिक गर्दै विश्व हिन्दु महासंघ नेपालका अध्यक्ष डा. रामचन्द्र अधिकारीले नेपाललाइ हिन्दु राष्ट्र बनाउने उद्देश्यका साथ मेची महाकाली जागरण अभियान आगामी रामनवमीदेखि सुरु गरिने बताए । बैठकले हिन्दुराष्ट्र पुनस्र्थापनाका लागि देशभित्र तथा बाहिरका ओमकार परिवार तथा धार्मिक संघ–संस्थासंग समन्वय र सहकार्य गर्ने निर्णय गरेको अध्यक्ष डा. अधिकारीले जानकारी दिए । 

महासंघको बैठकले ७ बुँदे घोषणा पत्र जारी गर्दै, श्रीमद्भागवद्गीतालाई विद्यालय तथा विश्वविद्यालयका पाठ्यक्रममा समावेश गराउन सरकारलाई दबाब दिने, संस्कृत विषयलाई आगामी शैक्षिक शसदेखी विद्यालयको पाठ्यक्रममा अनिवार्य विषयको रुपमा समावेश गर्न माग गर्ने लगायतका बिभिन्न निर्णय समेत गरेको बुटवलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष डा. अधिकारीले बताए । 

हिन्दु धर्म, पूर्वीय दर्शन र संस्कारलाई प्रत्येक सनातन हिन्दु धर्मावलम्बीसम्म पुर्याउन व्यापक प्रचारप्रसार एवं घरदैलो अभियान सञ्चालन गर्ने, नयाँ जन्मने सन्तानको नामाकरण हिन्दुत्व झल्किने गरी राख्ने विषयमा समस्त नेपालीहरुलाई अनुरोध गर्ने निर्णय समेत भएको उनले बताए । महासंघले आगामी राष्ट्रिय जनगणनामा हिन्दु धर्मावलम्बीहरुको तथ्यांक तोडमोड हुन सक्नेतर्फ सचेत रहन सचेतना अभियान सञ्चालन गर्ने निर्णय समेत गरेको केन्द्रिय वरिष्ठ उपाध्यक्ष बेन बहादुर पौडेल क्षेत्रीले बताए । 

सो अवसरमा केन्द्रिय वरिष्ठ उपाध्यक्ष शंकर खराल, केन्द्रिय सदस्य पुनाराम पोखरेल, केन्द्रिय सदस्य डिल्लीराज शर्मा आचार्य, विश्व हिन्दु महासंघ नेपाल रुपन्देही अध्यक्ष महेश्वर श्रेष्ठ, युवा संंयोजक शिव मल्ल लगायतले बोल्दै हिन्दु धर्मको महत्व र संरक्षणको आवश्यकताबारे चर्चा गरेका थिए । फागुन ४ र ५ दुईदिनसम्म चलेको केन्द्रिय कार्यकारिणी समिति तथा जिल्ला अध्यक्षहरुको संयुक्त बैठकले ७ बुँदे मुक्तिनाथ घोषणापत्र जारी गरेको हो । बैठकमा समितिका १ सय ८ केन्द्रीय पदाधिकारी र सदस्यहरु विभिन्न जिल्लाका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।