भैरहवा, १ वैशाख ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी, रुपन्देहीले नयाँ वर्ष २०८१ को अवसरमा शुभकामना व्यक्त गरेको छ ।
एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले एक शुभकामना सन्देश जारी गर्दै भर्खरै विदा भएको २०८० मा मुलुकको अर्थतन्त्र निकै अप्ठ्यारो अवस्थाबाट गुज्रेको भन्दै मुलुकलाई विद्यमान राजनीतिक अस्थिरता र अर्थतन्त्रमा देखिएको संकट समाधानका लागि नयाँ वर्ष फलदायी बनोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।
मुलुकमा व्याप्त निराशालाई चिर्दै देशमा राजनीतिक स्थिरता र सुशासन कायम गरी श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्नु आजको अपरिहार्य आवश्यकता बनेको उल्लेख गर्दै शुभकामना सन्देशमा केही समययता बाह्य एवं आन्तरिक कारणहरूले अर्थतन्त्रमा परेको प्रतिकूल असर र जनतामा यसले पारेको नकारात्मक प्रभावबाट २०८१ सालमा मुलुकले निकास पाओस् भन्ने शुभेच्छा प्रकट गरेका छन् ।
‘हामी समृद्ध देश निर्माण गरी जनतालाई सुखी बनाउने राष्ट्रिय आकांक्षा पूरा गर्ने गन्तव्यमा अघि बढिरहेका छौं । समृद्ध नेपाल, सुखी नेपालीको यस राष्ट्रिय आकांक्षालाई पूरा गर्न सुस्थीर राजनीति अपरिहार्य छ । मुलुक निर्माणको प्रथमिकताबाट बिमूख ब्यक्ति र समूहहरुका निजी दुराकांक्षाहरुले सिर्जना गरेका अवरोधहरुलाई छिचोल्दै राष्ट्रको यस साझा आकांक्षा पूरा गर्ने बाटोमा नेकपा (एमाले) अविचलित निष्ठासाथ अघि बढिरहेको छ’, शुभकामना सन्देशमा भनिएको छ ।
‘नयाँ वर्ष २०८१ को अवसरमा स्वदेश र विदेशमा रहनु भएका समस्त दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि र सफलताका लागि पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु, ’शुभकामना सन्देशमा भनिएको छ ।