
शनिवार , बैशाख १, २०८१
भैरहवा, १ वैशाख ।
हिन्दू स्वयंसेवक संघ नेपाल भैरहवा, रुपन्देहीको आयोजनामा शनिबार (आज) बिहान भैरहवामा ‘संस्कृति रक्षा दौड’ भएको छ । नव वर्ष वि.सं. २०८१ सालको अवसरमा दौडको आयोजना गरिएको संघका नगर कार्यवाह (सचिव) राजन शुक्लाले बताए ।
हिन्दू स्वयंसेवक संघ, नेपालले प्रत्येक वर्ष संस्कृति रक्षा दौडको आयोजना गर्दै आएको कार्यक्रम संयोजक अरुण कुमार अग्रवालले बताए ।
‘हामी राष्ट्रलाई जगाऔं’ भन्ने नाराका साथ आयोजित दौड विद्रोही चोकबाट सुरु भएको थियो । विद्रोही चोकबाट सुरु भएको (साढे ३ किलोमिटर) को दौड बुद्धचोक, लुम्बिनीगेट, वि.पी. पथ, पिपरहिया चोक, गल्लामण्डी, मिलनचोक हुँदै पुनः विद्रोही चोकमा पुगेर समापन भएको संघका सम्भाग कार्यवाह रविकान्त उपाध्यायले बताए ।
दौडमा रुपन्देहीको गैडहवा गाउँपालिका वडा नम्बर ८ का उमेश बरई प्रथम भएका छन् । त्यस्तै सियारी गाउँपालिका–३ का सचिन कुर्मी द्वितीय र सियारी–७ का मनोज केवट तृतीय भएको संघका राष्ट्रिय सह सेवा प्रमुख उमाशंकर पाठकले जानकारी दिए । त्यस्तै सियारी–१ का दीपक पासी, सियारी–१ कै अरुण चौधरी, रोहिणी गाउँपालिका–५ का सैफ अलि अन्सारी र शुद्धोधन गाउँपालिका–७ का गृजेश यादव सान्त्वना भएको पाठकले जानकारी दिए ।
दौडमा प्रथम हुनेलाई नगद रु. १५ हजार १ सय, द्वितीयलाई रु. ११ हजार १ सय, तृतीयलाई रु. ७ हजार १ सय तथा सान्त्वना (४ जनालाई) जनही रु. १ हजार १ सय पुरस्कार प्रदान गरिएको सिद्धार्थनगर सह–कार्यवाह दुर्गा प्रसाद कान्दुले बताए ।
कार्यक्रमको उद्घाटन गर्दै नेपाली राष्ट्रिय गानका रचयिता व्याकुल माईलाले नयाँ वर्षमा पिकनिक गर्ने, घुम्न जाने जस्ता प्रचलनलाई छोडेर हिन्दू स्वयंसेवक संघ, नेपालको नेतृत्वमा भएको संस्कृति रक्षा दौड उदाहरणीय कार्य भएको बताए । उनले भने, ‘यहाँहरुसँगै बिहान राष्ट्रिय गान गाउन पाउँदा खुसी लागेको छ । ’
उनले हरेक व्यक्तिमा राष्ट्रिय एकताको भावना जागृत हुनुपर्ने भन्दै राष्ट्रप्रेम महत्वपूर्ण कुरा भएको उल्लेख गरे । देशप्रतिको इमान्दारिता र भक्तिभावको कताकता अझै पनि अप्रयाप्तताका कारण जुन रुपमा देशको विकास हुनुपर्ने त्यो रुपमा हुन नसकेको उनले बताए ।
त्यस्तै हिन्दू स्वयंसेवक संघ, नेपाल राष्ट्रिय संघचालक हेम शर्मा आचार्यले भने, ‘हाम्रो संस्कृति दुनियाको लागि अनुकरणीय छ । हाम्रो संस्कृतिको संरक्षण गर्नुपर्छ, हेला गर्नुहुँदैन ।’
कार्यक्रममा समाजसेवी श्रवन पाण्डेय, उमाशंकर पाठक, रविकान्त उपाध्यायलगायतले बोलेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij