भैरहवा, ४ वैशाख ।
रोशनलाल गुप्ताले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिएपछि ड्रिम युनिक रुपन्देही सुपर लिग एकदिवसीय क्रिकेट प्रतियोगिता मेलवर्न क्रिकेट क्लबले सहज जीत हात पारेको छ । मंगलबार भएको डिभिजन ‘ए’ को फाइनल अघिको अन्तिम खेलमा मेलवर्नले देवदह क्रिकेट क्लबलाई ७ विकेटले पराजित गर्दै जीत हात पारेको हो ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा जीतका लागि पाएको १ सय ७ रनको लक्ष्य मेलवर्नले २० ओभरमा ३ विकेटको नोक्सानीमा सहजै भेट्टायो र जीत निकाल्यो । उसको जितमा विष्णु कटरिया र समीर अलीले (अविजित) क्रमश : ४२ र २६ रनको योगदान दिए । यस्तै, विजय कोहाँरले २० रन जोडे । बलिङमा देवदहका सुरज खड्का, शिव गुप्ता र संदीप पाण्डेले समान १–१ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको देवदहले निर्धारित ५० ओभरको खेलमा ३१ ओभरमा सबै विकेट गुमाएर १ सय ६ रनको सामान्य योगफल बनाएको थियो । उसलाई सस्तैमा रोक्न मेलवर्नका रोशनले ४ विकेट लिँदा रमेश कुर्मीले ३ र अर्जुन करौसले २ विकेट हात पारे । देवदहका सुमन पाण्डेले ३६ र संके भट्टराईले अविजित ३० रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न नसक्दा टीम पराजित भयो । खेलमा मेलवर्नका रोशनलाल गुप्ता प्लेयर अफ द म्याच भइ १ हजार २ सय रुपैयाँ पाए । प्रतियोगिताको उपाधिका लागि फाइनलमा भने लुम्बिनी खुकुरी क्लब र तिरुपति क्रिकेट क्लबबीच बुधबार प्रतिष्पर्धा हुनेछ ।
रुपन्देही क्रिकेट संघको आयोजना तथा ड्रिम युनिक कन्सलटेन्सी प्रा.लि., बुटवलको मुख्य प्रायोजनामा जारी प्रतियोगिताको विजेता टीमले १ लाख १ हजार र उपविजेताले ५० हजार १ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीलाई जनही ५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ ।