२०८३, बैशाख ९ गते

Apr 22 2026 | २०८३, बैशाख ९ गते

भुकम्पप्रभावित विद्यार्थीहरुलाई शैक्षिक सामग्री तथा न्यानो कपडा वितरण

बुधवार , बैशाख ५, २०८१

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • रुपन्देही, ५ वैशाख ।
    जाजरकोटको बारेकोट गाउँपालिका वडा नम्बर ६ स्थित श्री सीता माध्यमिक विद्यालयमा अध्ययनरत ५ सय जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री तथा न्यानो कपडा वितरण गरिएको छ । शीर्षक इन्टेल अमेरिकामा कार्यरत नेपालीहरूको सहयोग तथा प्राज्ञिक विद्यार्थी परिषद् नेपालको समन्वयमा भुकम्पप्रभावित विद्यार्थीहरूलाई मंगलबार शैक्षिक सामग्री तथा न्यानो कपडा वितरण गरिएको हो ।

    कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य गोरख बहादुर सिंहले विद्यार्थीहरूको शिक्षण सिकाई क्रियाकलापमा टेवा पुर्याउने उद्देश्यले अत्यन्तै विकट क्षेत्रमा रहेको विद्यालयलाई सहयोग गरेको भन्दै प्राज्ञिक विद्यार्थी परिषद् नेपाल र ओरेगन नेपाली समाजप्रति आभार प्रकट गरे ।

    त्यस्तै ओरेगन नेपाली समाज अमेरिकाका अध्यक्ष नारायण गुरुङले जाजरकोटमा भुकम्प जाँदा विदेशमा रहेका नेपालीहरूको मुटु कामेको बताए । उनले भुकम्पप्रभावित विद्यार्थीहरूलाई सानो भए पनि सहयोग गर्न र प्रत्यक्ष रूपमा भेट्न पाउँदा खुसी लागेको बताए ।

    प्राज्ञिक विद्यार्थी परिषद्का राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकालले विद्यार्थीहरू राष्ट्रको भविष्य भएकाले असल व्यक्ति निर्माणमा सबैले विशेष ध्यान दिनुपर्ने बताए । उनले विद्यार्थी परिषद्ले निरन्तर सेवा कार्य गरिरहेको उल्लेख गरे । उनले शैक्षिक सामग्री विद्यालयसम्म ल्याउन सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।

    कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकेन्द्र नेपाली, प्राज्ञिक विद्यार्थी परिषद्का केन्द्रीय विश्वविद्यालय कार्य प्रमुख छितराज न्यौपाने, विद्यार्थी परिषद्का सुदूरपश्चिम र कर्णाली प्रदेश संगठन सचिव चन्द्रशेखर जोशी, बारेकोट–५ का वडाअध्यक्ष गोरख बहादुर थापा, प्राज्ञिकका केन्द्रीय सदस्य प्रकाश शर्मा, विरिजित बोहरा, कर्णाली प्रदेश कार्यसमिति सदस्य नवीन गिरी, विष्णु कार्की, विद्यालयका शिक्षक, अभिभावक, जनप्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।

    WhatsApp Image 2024-04-16 at 7.36.29 PM.jpeg

    उक्त कार्यक्रममा प्राज्ञिक विद्यार्थी परिषद्का राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल र ओरेगन नेपाली समाज अमेरिकाका अध्यक्ष नारायण गुरुङलाई अभिनन्दन तथा सम्मानपत्रसहित विद्यालयले सम्मान गरेको थियो ।