
शनिवार , फाल्गुण ८, २०७७
भैरहवा। सामाजिक सेवामा समर्पित दारी ग्याङले पाँचौ स्थापना दिवस विविध कार्यक्रम गरी मनाएको छ। सामाजिक सञ्जालबाट संगठित सो ग्याङले बिहिबार आफ्नो स्थापना दिवसको अवसरमा रुपन्देहीको कोटिहवामा रहेको नेपाल अविनाश अनाथ आश्रममा दारी ग्याङ रूपन्देही र कतारको संयुक्त आयोजना सहयोग हस्तान्तरण गरेको हो।
स्थापना दिवसको अबसरमा आश्रममा एक कार्यक्रमको आयोजना गरी खेलकुद र शैक्षिक सामाग्री हस्तान्तरण गरिएको हो।
आश्रमका बालबालिकाहरूका लागि दारी ग्याङको लोगो अंकित कापी, कलम, पेन्सिल, ज्योमेट्रि बक्सलगायतका शैक्षिक सामाग्री प्रदान गरिएको कार्यक्रम संयोजक जीवन भण्डारीले जानकारी दिए।
त्यस्तै खेलकूदका सामाग्री अन्तर्गत क्यारेमबोर्ड, भलिबल, स्किपिङ, लुडो लगाएतका सामाग्री प्रदान गरिएको हो। साथै आश्रमका बालबालिकाहरूका लागि सो ग्याङले खानासमेत खुवाएको अर्का कार्यक्रम संयोजक सागर बस्यालले जानकारी बताएको छ।
विभिन्न समयमा विभिन्न सामाजिक कार्य गर्दै आएको सो दारी ग्याङले जाजरकोटकी कल्पना रोकाहा बचाऊ अभियान, कैलालीका अपाङ्गता भएका विष्णु रसायलीको घर निर्माणमा सहयोग, दमकडा मावि पाल्पाका दृष्टिविहिन विद्यार्थीका लागि सहयोग, धुर्मुस सुन्तली फाउन्डेसनमा सहयोग गरेको जनाएको छ।
सामाजिक सेवामा क्रियाशिल सो ग्याङले गत माघ १७ गते फुटसलको आयोजना गरेको थियो। सोही फुटसलको खर्च रकम कटाएर बचेको रकमबाट आश्रममा सहयोग गरिएको रूपन्देही अध्यक्ष गणेश पन्थले जानकारी दिए।
दारी ग्याङले गरेको उदाहरणीय कामप्रति आश्रमका अध्यक्ष कृष्ण ज्ञवालीले धन्यवाद दिए। कार्यक्रम भरत पौडेलको सञ्चालनमा भएको थियो। ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij