२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

रोटरी क्लब एसेम्बलीमा वार्षिक कार्ययोजनाको समीक्षा 

शनिवार , फाल्गुण ८, २०७७

बुटवल, ८ फागुन । 
रोटरी क्लब अफ तिलोत्तमाको ४ सय ६४ औ नियमित बैठक तथा तेस्रो क्लब एसेम्बलीमा वार्षिक कार्ययोजनाको समीक्षा गरिएको छ । कार्यक्रममा क्लबको उद्देश्य र लक्ष्य अनुरुप कार्ययोजना संचालन भएको र कार्यान्वयनको पाटो सशक्त रहेको धारणा राख्दै सहभागिहरुले कठिन भन्दा कठिन परिस्थितिमा पनि उल्लेखनीय कार्यप्रगति हासिल गरेको बताएका छन् ।

एसेम्बलीको उद्घाटन गर्दै रोटरी डिष्ट्रिक ३२९२ नेपाल भुटान जोन २१ का सहायक गभर्नर हरिप्रसाद पौडेलले यस क्षेत्रमै वार्षिक कार्ययोजना अनुसार नमुना काम भएको बताए । उनले क्लबको पदीय भुमिका अनुसार काम गर्नुपर्ने सुझाव दिए । क्लबको प्रशासनिक क्षेत्रमा क्लासिफिकेशन, माई रोटरीमा सदस्य प्रवेश गराउने जस्ता कामलाई प्राथमिकता दिनुपर्ने बताए । 

निकै कठिन समयको अवस्थामा पनि शिक्षा, स्वस्थ्यका क्षेत्रमा सचेतनाका धेरै काम क्लबबाट भएको भन्दै उनले समाजको आवश्यकता हेरेर सेवा गर्न सके उपयोगी हुने बताए । विश्वमा नै कोभिड–१९ को बेला सामाजिक कार्यमा अग्रसर रहेको रोटरीको टिआरएफ बढाउन सबैबाट सहयोग गर्न आग्रह गरे । क्लबका अध्यक्ष गोपाल प्रसाद ज्ञवालीले सिग्नेचर प्रोजेक्टका रुपमा रिडिको विद्यालयलाई सहयोग गर्ने प्रस्ताव गरेका छन् ।

एडमिनिस्ट्रेसन कमिटी चेयर निराजन पोखरेलले क्लबको लक्ष्य अनुसार प्रशासनिक पक्षमा भएका कार्यप्रगति जानकारी गराएका थिए । कोभिड–१९ को विषम परिस्थितिमा पनि समसामयिक विषयवस्तु र व्यक्तित्वलाई समेटेर ११ वटा नियमित अन्तरक्रिया कार्यक्रम गरिएको उनले बताए । 

त्यसै गरी मेम्बरसिप कमिटी चेयर टिकाराम पाण्डे, सर्भिस प्रोजेक्ट कमिटि चेयर देवीराम पाण्डे, पब्लिक रिलेसन कमिटी चेयरको भुमिकामा विष्णु भण्डारी, द रोटरी फाउण्डेशन कमिटी चेयर शंकर पाण्डेले रिपोर्ट प्रस्तुत गरेका थिए । 

कार्यक्रममा क्लबका पुर्व अध्यक्ष नवीन श्रेष्ठ, ओम प्रसाद अर्याल, खिमानन्द अर्याल, सचिव दिपक भट्टराई, रोट्रयाक्ट क्लब अफ तिलोत्तमा रुपन्देही अध्यक्ष सुभाष के.सी., भगवती अर्याल लगायतले क्लबले समाज निर्माणमा खेल्नुपर्ने भुमिकाको बारेमा चर्चा गरेका थिए ।