२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

रोटरी भैरहवाद्वारा १ लाख पुरस्कार राशीको हाफ म्याराथन आयोजना

शनिवार , फाल्गुण ८, २०७७

बुटवल, ८ फागुन । 
रोटरी क्लब अफ भैरहवाद्वारा १ लाख पुरस्कार राशीको खुल्ला हाफ म्याराथन (दौड प्रतियोगिता) आयोजना गरिने भएको छ । रोटरी ईन्टरनेशनल डे को अवसरमा आगामी फागुन २२ गते कुल २१ किलोमिटर दुरीको खुल्ला हाफ म्याराथन हुने भएको हो ।
मारुती फुडपार्क (काठमाण्डौ गेट, प्रिमियर बासमती राईस) को मुख्य प्रायोजन र  नेपाल अम्बुजा सिमेन्टको सह–प्रायोजनमा इन्टरनेशनलस्तरीय हाफ म्याराथन प्रतियोगिता आयोजना गरिएको रोटरी भैरहवाद्वारा मणिग्राममा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । 

प्रसिद्ध धावक बैकुण्ठ मानन्धरको उपस्थितीमा सम्पन्न पत्रकार सम्मेलनमा म्याराथनको तयारी अन्तिम चरणमा पुगेको रोटरी क्लब अफ भैरहवाका अध्यक्ष शिवहरि शर्माले बताए । विभागीय खेलाडीहरुसहित ३ सय बढी सहभागिता हुने उनले दावी गरेका छन् । लुम्बिनी प्रादेशिक अस्पतालको उत्तर ढोकाबाट सुरु भई सिद्धार्थ राजमार्गको शंकरनगर, मणिग्राम, कोटिहवा, पडसरी, अञ्चलपुर, बुद्घचोक, बर्मेलीटोल, नारायणस्थान पथ हुँदै सानू डिपार्टमेन्टल स्टोर चोकमा समापन गरिने उनले बताए । 

हाफ म्याराथनका विजेताले नगद १ लाख, उपविजेताले ७५ हजार, तेस्रो स्थान हासिल गर्नेले नगद ५० हजार तथा सान्त्वना पुरस्कार दुई जनालाई नगद ५ हजार १ सय रुपैयाँबाट पुरस्कृत गरिने उनले बताए । त्यसै गरी प्रतियोगितालाई रोटरी क्लब अफ बुटवल, रुपन्देही, सेन्ट्रल लुम्बिनी, बुटवल डाउनटाउन, बुटवल साउथ, सेन्ट्रल बुटवल, लुम्बिनी सिद्धार्थ, सेन्ट्रल रुपन्देही, पाल्पा लुम्बिनी लगायतका रोट्रयाक्ट क्लबहरुको सहकार्य रहेको उनले बताए । 

यसअघि विश्व पोलियो दिवसको अवसरमा ईन्डो पोलियो नारासहित १२ किलोमिटरको दौड २ वर्षअघि गरिएको कार्यक्रम संयोजक तथा रोटरी क्लब अफ भैरहवाका संस्थापक अध्यक्ष राजकुमार गुप्ताले बताए । क्लबले स्वास्थ्य, शिक्षा, खेलकुद लगायतका क्षेत्रमा काम गर्दै आएको गुप्ताले बताए । कार्यक्रममा किर्तिमानी धावक बैकुण्ठ मानन्धरले लुम्बिनी क्षेत्र खेलकुदमा अगाडि रहेको उल्लेख गर्दैै सञ्चार क्षेत्रको सहयोग पनि उल्लेख्य रहेको चर्चा गरेका थिए ।